६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता



अ+ अ-

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले स्थानीय बासिन्दालाई स्वास्थ्य सेवामा सहजता दिलाउन चार स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ ।

ती संस्थासँग नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले तथा सामुदायिक विकास शाखा प्रमुख दिनेश पोखरेलले प्रतिनिधिमूलक रूपमा सम्झौता गर्नुभएको हो ।

सम्झौताअनुसार अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र, रेयुकाई एईको मासुनागा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रले बनेपाली नागरिकलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउनेछन् । बनेपा नपा–११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा नगरभित्रका १८ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाको उपचारका लागि नगरले आवश्यक समन्वय गर्नेछ ।

यस्तै, बनेपामै अवस्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाबाट स्थानीय ‘स्थायी–नागरिक’ लाई उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउने तथा काभ्रे रक्तसञ्चार सेवामा रगत सङ्कलनकार्यमा सहयोग गरिने सम्झौतामा जनाइएको छ । यसैगरी, बनेपा–६ मा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा चालु आर्थिक वर्ष २०८३/८४ का लागि मोतियाविन्दुको शल्यक्रिया, विद्यार्थीको दृष्टि परीक्षण तथा चश्मा वितरणमा सहुलियत दिने उल्लेख गरिएको छ । स्वास्थ्य संस्थामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई आँखासम्बन्धी अभिमुखीकरण गराउनेसमेत व्यवस्था गरिएको छ ।

त्यस्तै, स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रमा उपचारका क्रममा बिरामीले बिमाबाट प्राप्त गर्ने रकम, विपन्न नागरिकका रूपमा पाउने सुविधा तथा अन्य छुट वा सहुलियत कट्टा गरी बाँकी उपचार खर्चमध्ये आवश्यक कागजातका आधारमा प्रतिव्यक्ति करसहित बढीमा रु एक लाखसम्म नगर कार्यालयले व्यहोर्ने सम्झौतामा जनाइएको छ ।

यसैबीच बनेपास्थित शिर मेमोरियल अस्पतालसँग पनि मातृशिशु स्वास्थ्य तथा क्यान्सरलगायतका उपचार सेवाका लागि सम्झौता गरी नगरवासीलाई थप सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको नगरप्रमुख शाक्यले बताउनुभयो ।

उहाँका अनुसार नगरका बासिन्दालाई स्थानीय स्वास्थ्य संस्थासँग उपलब्ध नयाँ तथा आवश्यक स्वास्थ्य–सेवा सहज रूपमा उपलब्ध गराउन नगर तल्लीन रहेको छ । रासस