६ भाद्र २०८३, शनिबार
,
Latest
गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ : प्रधानन्यायाधीश शर्मा सतर्कता केन्द्रको अनुगमन : १५ कार्यालयमा सेवा प्रवाह सुधारका लागि निर्देशन अर्घाखाँचीमा वन्यजन्तुको सिकारका लागि लाइसेन्स खुला बालिका हत्याको विरोधमा आज पनि वीरगन्ज-पथलैया सडक खण्ड अवरुद्ध अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ : मन्त्री पोखरेल बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’बीच १४ बुँदे सहमति ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र, बन्दैछन् २०० बढी स्टल रसुवामा पहिरोले ११ घरगोठ पुरियो, करिब साढे २९ लाखको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस महाधिवेशन मंसिरपछि सार्न मिल्दैन, सर्वोच्चले यसलाई बुझ्छः उपसभापति शर्मा



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मंसिर पछाडी लैजान नमिल्ने बताउनुभएको छ ।

स्व. प्रदीप गिरिको स्मृतिमा शनिवार आयोजित कार्यक्रममा उहाँले मंसिरभन्दा पछाडी महाधिवेशन लैजाने संवैधानिक तथा कानुनी आधार काँग्रेससंग नरहेको बताउनुभएको हो । उहाँले महाधिवेशन रोक्नुभन्दा संवादमार्फत आन्तरिक विवाद समाधान गर्नुपर्ने बताउनु भयो ।

काँग्रेसभित्रको विवाद समाधानका लागि आफूहरु तयार रहेको उहाँको भनाई छ । उहाँले अदालत जानुभन्दा पार्टी कार्यालयमा आएर संवाद र सहमतिको बाटो रोज्न असन्तुष्ट नेताहरुलाई आग्रह गर्नुभयो ।

असन्तुष्ट पक्षलाई अदालत जाने अधिकार भएपनि सकेसम्म पार्टी भित्रै विवाद मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सर्वोच्च अदालतले काँग्रेसको महाधिवेशनसम्बन्धी अन्तरिम आदेशबारे निर्णय गर्दा संविधान र राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थालाई गम्भीरतापूर्वक हेर्नुपर्ने बताउनु भयो ।

संविधानको धारा २६९ को उपधारा ४ ले राजनीतिक दलले पाँच वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । विशेष परिस्थितिमा थप छ महिना समय लिन सकिने भएपनि त्यससम्बन्धी व्यवस्था दलको विधानमै उल्लेख हुनुपर्ने उहाँको भनाई छ ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १६ ले पनि यही व्यवस्थालाई व्याख्या गरेको उहाँले बताउनु भयो । तर नेपाली काँग्रेसको विधानमा संविधानले तोकेको थप छ महिनाको व्यवस्था नरहेको उहाँको दाबी छ । चार वर्ष पुगेपछि विशेष अवस्थामा एक वर्ष थप्ने व्यवस्था विधानमा राखेको भएपनि संविधानले दिएको थप छ महिनाको सुविधा प्रयोग गन सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो ।

मंसिरमा थपिएको एक वर्ष पूरा हुने भएकोले आगामी असोज १६ बाट सुरु हुने महाधिवेशन प्रक्रिया समयमै अघि नबढे काँग्रेसको वैधानिकतामाथि गम्भीर प्रश्न उठ्न सक्ने उहाँले बताउनु भयो । उहाँले आन्तरिक विवादलाई लिएर पार्टीको वैधानिकतामाथी नै प्रश्न उठ्ने अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एकातिर काँग्रेसको सानेपाबाट महाधिवेशनको तयारी हुँदै गर्दा अर्कोतर्फ भेला गरेर असहमतिहरू राख्दै अदालतहरू ढोका ढक्ढक्याउँदै गर्दा सायद प्रदीप दाइले भन्नुहुन्थ्यो होला कि राजनीतिक दलहरू बीचको विवादको समाधानको खोजी पार्टी कार्यालय भित्रको कोठामा गर्नुस्, अदालतको ढोकामा होइन भनेर सायद भन्नुहुन्थ्यो होला । म जान्दछु कि सम्मानित सर्वोच्च अदालतमा जाने कुरालाई निरुत्साहित गर्न मिल्दैन । पार्टीका आदरणीय नेताहरू जानुभयो, रिट दर्ता गर्न जानुभयो । त्यो दर्ता होला, संवाद होला । तर आज यति भनिराख्न चाहन्छु कि सम्मानित सर्वोच्च अदालतको न्यायाधीशहरूले टेबुलमा बसेर अन्तरिम आदेश जारी गर्ने या नगर्ने, यो कहिले टुङ्गो गर्ने भन्दै गर्दाखेरि नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्थालाई पनि गम्भीरतापूर्वक उहाँहरूले पनि हेर्नुहुन्छ, पार्टीका नेताहरूले हेर्नुहुन्छ । किनभने नेपालको संविधानको धारा २६९ को ४ ले भन्छ कि कुनै पनि राजनीतिक दलले ५ वर्षमा अधिवेशन गर्नुपर्छ । ५ वर्षमा तिमी गर्न सक्दैनौ भने, थप तिमी ६ महिना उता जान सक्छौ, तर जान सक्छौ भनेर हुन्न, तिमीले आफ्नो विधानमा विशेष परिस्थितिमा थप ६ महिना जाने कुरा लेखेको हुनुपर्छ भन्छ । त्यस्तै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १६ ले त्यसैलाई व्याख्या गर्छ र भन्छ कि तिमीले त्यसरी ६ महिना थप जाने व्यवस्था लेखेका छौ भने त्यो लेखिएको कुरासहितको विधान निर्वाचन आयोगमा गएर राखेर अनुमति लेउ र थप ६ महिना थप भन्छ । अब मैले यहाँ स्पष्ट गर्न चाहन्छु, संविधानले दिएको त्यो व्यवस्था नेपाली काँग्रेसको विधानमा विगतमा पनि लेखिएको थिएन, अहिले पनि छैन । हामीले ४ वर्ष पुगेपछि विशेष अवस्थामा १ वर्ष थप्ने भनेर भन्ने व्यवस्था राखेका छौँ, हाम्रो विधानमा । पहिले पनि, अहिले पनि त्यो छ । त्यो बमोजिम यो मंसिरमा हाम्रो त्यो थपिएको १ वर्ष पूरा हुन्छ । अर्थात् हामी ६ महिना थप जानका लागि संविधानले भनेको कुरा प्रयोग गर्न तब पाउँथ्यौँ, जब हामीले संविधानले निर्देश गरे बमोजिम हाम्रो विधानमै त्यस सम्बन्धी व्यवस्था लेखेका हुन्थ्यौँ । विधानमा नलेखिसकेपछि मंसिरभन्दा उता जान पाउने सुविधा हामीलाई छैन । त्यसैले सम्मानित सर्वोच्च अदालतमा बसेर न्यायाधीशहरूले आफ्नो कलम चलाउँदै गर्दाखेरि नेपाली काँग्रेस पार्टीको असोज १६ मा सुरु हुने महाधिवेशनको प्रक्रिया त्यो समयमा सुरु भएन भने मंसिरभन्दा उता जाने अवस्था नभइसकेपछि एउटा पुरानो राजनीतिक दलको वैधानिकता उपर गम्भीर प्रश्न उब्जिन्छ । यो विषयलाई मलाई लाग्छ हाम्रा श्रद्धेय नेताहरूले स्मरण गर्नुहुन्छ, ख्याल गर्नुहुन्छ । मिडियाका साथीहरूले ख्याल गर्नुहुन्छ, न्यायाधीशहरूले ख्याल गर्नुहुन्छ र पार्टीका साथीहरू सबैलाई आग्रह गर्न चाहन्छु कि त्यसलाई ख्याल गरिराखेर हामीलाई अलमलिने अवस्था छैन । पार्टी कार्यालयको ढोका मात्रै होइन, सबै अग्रजहरूलाई स्वागत गर्नका लागि हृदयको ढोका पनि खुला राखेर काँग्रेसलाई एकताबद्ध बनाएर सँगसँगै लिएर गएर जान हामी तयार छौँ ।’

पार्टीभित्रको असहमति संवादबाट समाधान गर्नुपर्नेमा जोड दिँदै सबै अग्रज नेताका लागि पार्टी कार्यालयसँगै हृदयको ढोका समेत खुला रहेको बताउनुभयो । वीपि कोईराला, प्रदीप गिरी र सीके प्रसाईंले स्थापित गरेको विचार र राजनीतिक विरासतलाई पछिल्लो पुस्ताले अघि बढाउन काँग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल