६ भाद्र २०८३, शनिबार
,
Latest
रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल हाक्काहाक्की यो बजेट गरिबहरुको होइन भन्नेहरुले शासन गरिरहेका छन्, हामी भाग्दैनौँः सन्तोष परियार जम्बो समितिले कम्युनिस्ट पार्टीलाई बलियो बनाउँदैनः पम्फा भुसाल बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’ टप एन्ड टी-२० सिरिजः बङ्गलादेशविरुद्ध नेपाल ‘ए’ ले ब्याटिङ गर्दै इरानद्वारा अमेरिकी आर्थिक प्रविन्दको आलोचना जुम्लामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, तर व्यावसायिक चुनौती कायमै



अ+ अ-

पेरिस। खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने जल यातायात प्रभावित भएपछि युरोप र एसियाबिच छोटो दूरीको समुद्री मार्गका रूपमा आर्कटिकको ‘नर्दन सी रुट’ (एनएसआर) प्रति चासो बढेको छ ।

तर विज्ञले यसको व्यावसायिक सम्भावना निकट भविष्यमा सीमित रहने बताएका छन् । जलवायु परिवर्तनका कारण आर्कटिक क्षेत्रमा हरेक वर्ष लामो समयसम्म बरफ पग्लिन थालेपछि चीन र दक्षिण कोरियाका कन्टेनर जहाजले आगामी सातामा रुसी जल क्षेत्र हुँदै एनएसआरको सम्भाव्यता परीक्षण गर्ने तयारी गरेका छन् । यद्यपि, उद्योग विज्ञका अनुसार यसले निकट भविष्यमा विश्वव्यापी समुद्री ढुवानीको ठूलो हिस्सा परम्परागत मार्गबाट विस्थापित गर्ने सम्भावना कम छ ।

यमनका हुथी विद्रोहीले लाल सागर र बाब अल-मन्देब जलसन्धि क्षेत्रमा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि धेरै ढुवानी कम्पनीले स्वेज नहरको मार्ग प्रयोग गर्न छाडेका छन् । उनीहरूले अफ्रिकाको दक्षिणी भागस्थित ‘केप अफ गुड होप’ हुँदै जहाज सञ्चालन गर्दा एसिया र युरोपबिचको यात्रा समय, इन्धन खर्च र कार्बन उत्सर्जन बढेको छ ।

यसको तुलनामा एनएसआर प्रयोग गर्दा स्वेज नहरको तुलनामा दूरी ३० देखि ४० प्रतिशतसम्म र केप अफ गुड होप हुँदै जाने मार्गको तुलनामा करिब आधा घटाउन सकिने क्रेडिट बीमा समूह ‘कोफेस’ ले जनाएको छ । तर, फ्रान्सको सेन्ट-नाजेरस्थित हायर इन्स्टिच्युट अफ मेरिटाइम इकोनोमिक्स (आइएसइएमएआर) का निर्देशक पल टुरेटका अनुसार एनएसआर मुख्यतः अगस्टदेखि अक्टोबरसम्म मात्र प्रयोग गर्न सकिन्छ ।

साथै, बरफमा सञ्चालन गर्न सकिने विशेष ‘आइस-क्लास’ जहाज आवश्यक पर्ने भएकाले लागत पनि बढी हुन्छ । यसका कारण ठूला कन्टेनर जहाजका लागि यो मार्ग आकर्षक नहुन सक्छ । फ्रान्सेली समुद्री ढुवानी विशेषज्ञ जेरोम डे रिकल्सका अनुसार यसै महिना निङ्बोबाट युरोपतर्फ एनएसआर हुँदै यात्रा सुरु गरेको चिनियाँ कन्टेनर जहाज ‘दुबई टावर’ को क्षमता ठूला कन्टेनर जहाजको तुलनामा करिब एक-दशांश मात्र छ ।

एनएसआर हुँदै यात्रा गर्ने अधिकांश कन्टेनर जहाजलाई रुसी आणविक शक्तिबाट सञ्चालित आइसब्रेकरको सहयोग आवश्यक पर्छ । बीमा समूह ‘एलियान्ज कमर्सियल’ का अनुसार सन् २०२५ मा २३ वटा जहाजले उक्त मार्ग प्रयोग गरेका थिए, जुन सन् २०२४ को १५ वटाभन्दा बढी हो । तर स्वेज नहर हुँदै दैनिक सञ्चालन हुने जहाजको तुलनामा यो सङ्ख्या निकै कम हो ।

मध्यपूर्वमा द्वन्द्व जारी रहे पनि सन् २०२६ को पहिलो छ महिनामा दैनिक करिब ३५ वटा जहाजले स्वेज नहर पार गरेका थिए । सन् २०२३ मा हुथी आक्रमण सुरु हुनुअघि यो सङ्ख्या दैनिक ५० भन्दा बढी थियो । ‘कोफेस’ का अनुसार पूर्वी एसिया, उत्तरी युरोप र उत्तरी अमेरिकाबीच हुने हालको समुद्री व्यापारको बढीमा तीन दशमलव पाँच प्रतिशत मात्र आर्कटिक मार्गतर्फ सार्न सकिने सम्भावना छ ।

कोफेस अध्ययनकी अर्थशास्त्री इभ बारले सन् २०३० सम्म पनि एनएसआरको व्यावसायिक सम्भावना अत्यन्त सीमित रहने र मुख्यतः कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने बताउनुभयो । यद्यपि, तेल तथा तरल प्राकृतिक ग्यास बोक्ने जहाजका लागि यो मार्ग केही हदसम्म आकर्षक हुनसक्ने अध्ययनले देखाएको छ । केही अवस्थामा यस्ता जहाजले ढुवानी लागत ४५ देखि ५० प्रतिशतसम्म घटाउन सक्ने जनाइएको छ । सुक्खा थोक मालवाहक जहाजले पनि आइसब्रेकरको सहयोगमा यो मार्ग प्रयोग गर्न सक्ने सम्भावना छ ।

तर आर्कटिक क्षेत्रमा बढ्दो जलयातायातले वातावरणीय जोखिम निम्त्याउने चिन्ता पनि छ । जहाजबाट निस्कने कालो कार्बनले सूर्यको ताप सोस्ने भएकाले बरफ पग्लिने क्रम तीव्र हुन सक्छ । तेल चुहावटको जोखिम पनि उत्तिकै चिन्ताको विषय हो । फ्रान्सको सीएमए-सीजीएम, स्विट्जरल्यान्डको एमएससी र जर्मनीको हापाग-लोयडलगायत ठूला पश्चिमी ढुवानी कम्पनीले उत्तरी समुद्री मार्ग प्रयोग नगर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

समग्रमा एनएसआरले विश्वव्यापी व्यापारको वर्तमान संरचनामा ठूलो परिवर्तन ल्याउने सम्भावना नरहेको बारले बताउनुभयो । उहाँका अनुसार रूस, चीन र अमेरिकाबिच बढ्दो रणनीतिक प्रतिस्पर्धाका कारण आर्कटिक जलमार्ग प्रतिको चासो व्यावसायिकभन्दा राजनीतिक पक्षबाट बढी प्रेरित देखिन्छ । आइएसइएमएआरका टुरेटले पनि चिनियाँ र दक्षिण कोरियाली जहाजका परीक्षण यात्रालाई सीमित महत्वको घटना भन्दै एउटा चिनियाँ कन्टेनर जहाजको यात्राले ‘वीय सिल्क रोड’ निर्माण नहुने टिप्पणी गर्नुभयो । रासस/एएफपी