कैलाली। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन्।
कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन। मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन्।
यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६०० दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई आग्रह गरिन्। मन्त्री रावलले भूमि समस्या समाधान कार्यका लागि सरकारले आवश्यक स्रोतसाधन, जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन्।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले कैलालीमा चाँडै लालपुर्जा वितरण गर्ने तयारीबारे छलफल भएको जानकारी दिए। मन्त्री रावल कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।











