७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

गुपचुपमा हुर्किको सम्बन्ध सामाजिक सञ्जालमा छताछुल्ल भएपछि…

गुपचुपमा हुर्किको सम्बन्ध सामाजिक सञ्जालमा छताछुल्ल भएपछि…
अ+ अ-

काठमाडौँ । फोनमा सुनेको खबर नै काफी थियो प्रेम घिसिङलाई चक्कर छुटाउन । १४ साउन बिहानको कुरा हो । सुरुमा उनले पत्याउनै सकेनन् तर मनमनै गमे, ठूलाबाकी छोरीले शोकले भरिएको खबर त्यसै सुनाएकी होइनन् । केही पक्कै गडबड छ ।

कीर्तिपुरस्थित एक निजी स्कुलमा कार्यरत रामेछाप गुन्सीभदौरेका प्रेम हतारिँदै भक्तपुरको महानगरीय प्रहरी वृत्त पुगे । त्यहाँ उनले सबै जानकारी पाए । खबर थियो, भर्खरै १२ पास गरेकी १८ वर्षीया बहिनी मंगली घिसिङले आत्महत्या गरेको ।

केही महिनाअघि मात्रै २१ वर्षीय जीवन तामाङसँग मंगली भागेको प्रेमलाई थाहा थियो । उनले केही महिनामै बिहे भोज गरिदिने र संस्कार पूरा गरिदिने वाचा पनि गरेका थिए तर बहिनी जोसँग भागेकी थिइन्, उनैसँग डेराभित्र एउटै पासोमा झुन्डिएर जीवन समाप्त पार्लिन् भनेर प्रेमले सोचेका पनि थिएनन् ।

प्रहरीकहाँ पुगेपछि उनले बहिनीको प्रेम र अन्तर्यमा जेलिएको गाँठोबारे सोच्दै नसोचेको कुरा थाहा पाए । थिमि वृत्तका डीएसपी शान्तिराज कोइरालाका अनुसार घटनाको अघिल्लो दिन जीवनकी श्रीमतीले आफू र ३ वर्षकी छोरीलाई अलपत्र पारेर श्रीमान् अरूसँगै सल्केको भन्दै निवेदन दिएकी थिइन् । लगत्तै प्रहरीले जीवनलाई बोलाएर एक रात थुनामा राखेको थियो ।

अनि मिलेर बस्ने र दुःख नदिने भन्दै कागज गराएर भोलिपल्ट छाडिदिएको थियो । प्रहरीबाट निस्केका जीवनले श्रीमतीलाई १ हजार रुपैयाँ दिई तरकारी किन्न पठाए । आफू भने मंगलीलाई लिएर बसिरहेको कोठामा गए । सोही रात उनीहरू दुवैले झ्यालको ग्रिलमा कपडाको पासो लगाएर आत्महत्या गरे । १३ गते रातिको घटना १४ गते बिहान मात्रै प्रहरीले थाहा पायो । मंगलीका दाइ प्रेमले पनि त्यही दिन थाहा पाए । ‘पढेकी बहिनी, के–के न गर्ली भन्ने थियो तर आफैंलाई सिध्याई,’ प्रेमले भने ।

दुई वर्षयता श्रीमतीसँग जीवनको राम्रो सम्बन्ध नभएको र उनले वास्ता नगरिरहेको पृष्ठभूमि रहेको डीएसपी कोइरालाले बताए । ‘सायद विवाहेतर सम्बन्ध सफल नहुने ठानेर उनीहरूले आवेगप्रेरित निर्णय लिए रआफ्नो जीवन सिध्याए,’ उनले अनुमान गरे । एक्लै नभई जोडी नै बाँधिएर आत्महत्या गर्ने घटना नेपाली समाजका निम्ति नयाँ होइन ।

आर्थिक वर्ष ०७४/७५ मा मात्रै ११ जोडीले सामूहिक आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आव ०७५/७६ मा पनि १० जोडीले एकै ठाउँमा पासो लगाएर आत्महत्या गरेको कार्यालयको तथ्यांक छ । मंगली र जीवनले आत्महत्या गरेको६ दिनपछि अर्थात् २० साउनमा यस्तै खबर सार्वजनिक भयो बूढानीलकण्ठ नगरपालिका–११ राम मन्दिरबाट ।

सोलुखुम्बु सोताङ गाउँपालिका ४ नाम्लुङका २१ वर्षीय अमिरचन्द्र नाछिरिङ र माप्य दूधकोसी गाउँपालिकाकी विवाहिता निर्मला खालिङले एउटै पासोमा झुन्डिएर आत्महत्या गरे । मंगली र जीवनको जस्तैयो आत्महत्याको कारण पनि उही थियो, विवाहेतर सम्बन्ध र त्यसमा अकस्मात् आइपरेको उल्झन ।

उस्तै पृष्ठभूमि थियो, राम मन्दिरको एउटा रूखमा एउटै पासोमा झुन्डिएका अमिरचन्द्र र निर्मलाको कथा पनि । वैदेशिक रोजगारीका क्रममा रहेका पतिको अभाव निर्मलाले अमिरचन्द्रसँगको प्रेममार्फत पूरा गरिरहेकी थिइन् । गुपचुपमै हुर्किरहेको उनीहरूको सम्बन्ध एक दिन सामाजिक सञ्जालमार्फत छताछुल्ल भयो ।

उनीहरूले चुम्बन गरिरहेको फोटो खै कसले खिच्यो कुन्नि, वैदेशिक रोजगारीमै रहेका एक व्यक्तिले उनीहरूको फोटो फेसबुकमार्फत सार्वजनिक गरिदिए । घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त बौद्धको ठम्याइ छ– गोप्य सम्बन्धको पोल खुल्नु नै आत्महत्याको मुख्य कारण देखिन्छ । लुकिछिपी बढेको सम्बन्ध सार्वजनिक भएपछि आइपर्ने अवगालबाट बच्न आत्महत्या गरेको हुन सक्ने घटनाका बेला बौद्ध वृत्तका प्रमुख रहेका डीएसपी नरेन्द्र चन्दले बताए ।

करिब एक साताको अन्तरमा भएका दुई सामूहिक आत्महत्याको घटना सेलाउन नपाउँदै अर्को घटना भयो, पशुपतिको भण्डारखालमा । १७ भदौ बिहान मर्निङ वाकमा हिँडेकाहरूले एउटै सलको पासो लगाएर रूखमा झुन्डिइरहेका जोडी देखे । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीको टोलीले तुरुन्तै मुचुल्का उठायो । मृतकका साथबाट फेला परेको फोन डायरीबाट उनको परिवारका सदस्यलाई खबर भयो ।

यी जोडी थिए, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी ३३ वर्षीया उमिता दमाई र मझुवागढी नगरपालिका १० खोटाङका ४० वर्षीय विवाहित जय गिरी ।गर्भपतनको अभियोगमा थुनामा परेकी उमिता र चोरी घटनामा जेल परेका जय गिरीको चिनाजानी खोटाङ कारागारमै रहँदा भएको हुन सक्ने प्रहरीको अनुमान छ । करिब एक महिनाअघि ४ दिनको फरकमा उनीहरू थुनामुक्त भए । त्यसपछि झाङ्गिएको उनीहरूको प्रेम केही महिनामैआत्महत्यामा पुगेर अडियो ।

जयका दाइ खड्गबहादुर गिरी बूढानीलकण्ठमा किराना पसल गर्छन् । १७ गते बिहानै उनलाई भान्जा पर्नेले फोन गरेर घटनाबारे सुनाए । सुरुमा त खड्गले विश्वासै गरेनन् । तर भान्जाले सबै बेलिविस्तार लगाएपछि उनले तुरुन्तै छोराहरूलाई घटनास्थल पठाए ।
खड्गले सुनाए, ‘सोच्दै नसोचेको कुरा कसरी पत्याउनु रु खबर सुन्नेबित्तिकै जमिन भासिए जस्तो भयो नि ।’

बाँसबारीमा डेरा गरेर बस्ने जय घटनाको दिन नुहाइवरी निस्किएका थिए । थुनाबाट छुटेपछि पनि श्रीमती र १७ वर्षीय छोरासँग उनको सम्बन्ध धमिलो थिएन तर उनले थुनामै रहँदा अर्कै बाटो बनाइसकेका रहेछन् क्यार । घरबाट निस्केका जय त्यसपछि फर्किएनन्, संसारै त्यागे ।

उमिता र जयको आत्महत्याले केही शंका छाडेर गएको छ नै, त्योभन्दा पनि विवाहेतर सम्बन्धकै कारण उनीहरू कसरी आत्महत्या गर्ने बिन्दुमा पुगे, त्यसका पछाडि उनीहरूको कस्तो मनोविज्ञानले काम गरेको थियो भन्ने रहस्य पनि गर्तमै छ ।‘घटनाको दुई महिनाअघि मात्रै भाइसँग कुरा भएको थियो । ऊ आफ्नै दुनियाँमा थियो तर उसले यस्तो अप्रिय निर्णय किन लियो ? मैले पनि खुट्याउन सकेको छैन,’ खड्गले भने ।

जोडी बाँधेर हुने आत्महत्याका घटनामा धार्मिक अन्धविश्वास बढी देखिने टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा. सरोज ओझाको बुझाइ छ । ‘यो जीवनमा हामी आफूले भनेअनुसार केही गर्न नसक्ने भयौं । सँगै मरेपछि नयाँ लोकमा पुगिन्छ र सँगै भनेअनुसार गर्न पाइन्छ भन्ने मनोभावले पनि उनीहरूलाई आत्महत्यातर्फ प्रेरितगरेको देखिन्छ,’ उनले भने ।

कतिपय आत्महत्यामा समाज वा आफूविरोधीहरूलाई देखाइदिने भावना पनि हुन्छ । ‘हिरोइज्म जस्तो यस्तो भावनामा बहकिएर पनि कैयौंले आवेग प्रेरित आत्महत्या गरेका हुन्छन्,’ उनले भने, ‘बाँचेर कुनै सार छैन भन्ने सोचेपछि मानिस आत्महत्याका निम्ति तयार भएको देखिन्छ सामूहिक आत्महत्यामा भने नयाँ लोकमा पुग्ने र आफ्नो इच्छा पूरा गर्न सकिन्छ भन्ने अन्धविश्वास प्रबल देखिन्छ ।’

जोडी बाँधेर गरिएका अधिकांश आत्महत्यामा प्रेम, विवाहेतर प्रेम र त्यसका क्रममा देखापरेको समस्या नै मुख्य कारण भेटिएको छ । यसका अतिरिक्त गरिबी, अभाव र पारिवारिक तनावका कारण परिवार नै सिध्याउने घटना भएका देखिन्छन् । त्रिचन्द्र क्याम्पसकी उपप्राध्यापक समेत रहेकी समाजशास्त्री मीना उप्रेतीको बुझाइमा आत्महत्याका निम्ति व्यक्तिगत कारणका अतिरिक्त त्यस्ता कारण निर्माण गर्ने सामाजिक परिस्थिति पनि जिम्मेवार हुन्छन् ।

विवाहेतर सम्बन्धलाई सजिलै नपचाउने सामाजिक बनोट, प्रेमका विषयमा अनुदार समाज, गरिबीको दुष्चक्र र डिप्रेसन जस्ता मानसिक समस्याको खुलेर उपचार गर्न नसक्ने सामाजिक परिस्थिति आत्महत्याका कारण रहेको उनको भनाइ छ । ‘समस्यामा परेकाहरूले जब आडभरोसा पाउँदैनन् र समाजले अब हामीलाई स्विकार्दैन भन्ने निष्कर्षमा पुग्छन् तब उनीहरू आत्महत्याको बाटोतर्फ उन्मुख हुन्छन्,’ उनले भने ।

वैशाखयताका ५ महिनामा मात्रै सामूहिक आत्महत्याका चार घटनाबाट तीन जिल्लामा ८ जनाको ज्यान गएको छ । जोडी बाँधेर गर्ने आत्महत्याका घटनामा प्रेमी–प्रेमिका वा विवाहेतर सम्बन्धबाट बाँधिएको जोडीका अतिरिक्त आमाछोरी वा आमा र नाबालक सन्तान छन् । कैयौंले सामाजिक अवगाल, पारिवारिक उल्झन र शंका जस्ता कारणले ज्यान पनि फाल्ने र सन्तानलाई पनि सिध्याउने गरेका छन् ।

ललितपुर चापागाउँमा डेरा गरी बस्ने मुगुको स्वरूप गाउँकी २९ वर्षीया जानी भनिने जानकारी थापाले २१ महिनाकी छोरी राधिकासँग सामूहिक रूपमा गरेको आत्महत्या एउटा यस्तै घटना हो । घटना गत जेठ २२ को हो । महानगरीय प्रहरी वृत्त चापागाउँले खबर पायो, कालेश्वर गुम्बाडाँडास्थित प्रेमप्रसाद घिमिरेको घरको दोस्रो तलाको काठको बलोमा आमाछोरी झुन्डिएका छन् । प्रहरीले यो घटनामा पारिवारिक कारण र डिप्रेसन हुन सक्नेआशंका गरेको छ ।

विवाहेतर सम्बन्ध र सम्बन्धको उल्झन जोडी बाँधेर गरिने आत्महत्याको प्रमुख कारण रहेको प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता एसपी उमेश जोशी बताउँछन् । वैदेशिक रोजगारीले बिथोलेको पारिवारिक संरचना, सम्बन्धमा देखापरेको उल्झन र समयक्रममा बढ्दै गएको आशंकाले पनि मानिस विवाहेतर सम्बन्धमा लागेको प्रहरी प्रधान कार्यालयका निमित्त प्रवक्ता एसपी उमेश जोशीको तर्क छ ।

‘गुपचुप सुरु हुने विवाहेतर सम्बन्धबारे जब अरूले थाहा पाउँछन् वा सोच्दै नसोचेको परिस्थिति निर्माण हुन्छ, त्यसपछि आफैंलाई सिध्याउने प्रवृत्ति पनि छ,’ उनले भने । समाजबाट आफू परित्यक्त भएको भन्ने भाव रआफ्नो कुरा सुनिदिने वा बुझिदिने कोही छैनन् भनेर बाँच्नुको सार नदेख्ने बुझाइपछि मानिस आत्महत्या गर्न अग्रसर हुने गरेको पाइएकोउनले बताए ।

बर्सेनि बढ्दै छ आत्महत्या
प्रहरी प्रधान कार्यालयका अनुसार आव ०७३/७४ यताका तीन वर्षमा प्रत्येक वर्ष आत्महत्याको दर बढेको बढ्यै छ । ०७३/७४ मा ५ हजार १ सय ३१ जनाले आत्महत्या गरेका थिए । यो संख्या आव ०७४र७५ मा ५ हजार ३ सय ४६ पुगेको थियो । जुन आव ०७५/७६ मा ५ हजार ७ सय ५८ पुगेको छ । प्रहरीका अनुसार नेपालमा औसत दैनिक १५ देखि १६ जनाले आत्महत्या गर्ने गरेका छन् ।

आपराधिक क्रियाकलपाका कारण हुने कुल मृत्युमध्ये ४६ प्रतिशत घटना आत्महत्याबाट हुने गरेको प्रहरीको भनाइ छ । अपराध संहिताले आत्महत्यालाई पनि आपराधिक क्रियाकलापका रूपमा व्याख्या गरेको छ । प्रहरीको तथ्यांकअनुसार आफैंलाई सिध्याउने विन्दुमा पुगेकाहरूमध्ये ७५ प्रतिशतले झुन्डिएर आत्महत्या गरेका छन् । २३ प्रतिशतले भने विष खाएर आत्महत्या गरेको पाइन्छ ।

आत्महत्याका निम्ति सबैभन्दा धेरै जिम्मेवार क्षणिक आवेग नै रहेको प्रहरीको विश्लेषण छ । कुल आत्महत्याका घटनामा २४ प्रतिशत घटना आवेगप्रेरित देखिन्छन् । आत्महत्या गर्ने घटनामा आवेश नै बढी कारण हुने गरेको मनोचिकित्सक डा. ओझा बताउँछन् । १५ प्रतिशतले पारिवारिक कलह र ५ प्रतिशतले प्रेममा धोका पाएपछि आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांक छ ।

आर्थिक लेनदेनको उल्झनका कारण २ र मानसिक रोगका कारण १५ प्रतिशतले आत्महत्या गरेको पाइन्छ । गरिबी पनि आत्महत्याको सहायक कारण बनेको छ । कुलमध्ये ७.५ प्रतिशत आत्महत्या गरिबीका कारण हुने गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । असफलताका कारण २.५ र व्यावसायिक तनावका कारण ३.७ प्रतिशत आत्महत्या भएको देखिन्छ । २४ प्रतिशत आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालको जञ्जाल र त्यसमा प्रवाहित अनेक सूचना, अफवाह र आशंकाजन्य सामग्रीका कारण पनि मानिस भ्रमित भइरहेका छन् । सूचना प्रविधि र त्यसबाट सिर्जित सूचनाका कारण उत्पन्न हुने शंका र उपशंका पनि आत्महत्याका एउटा कारण बन्दै गएको समाजशास्त्री मीना उप्रेतीको बुझाइ छ ।

थितिमा चल्न नसकेको समाज, कमजोर राज्यप्रणाली र सूचना प्रविधिको अति उपयोगले जटिल बन्दै गएको जीवनशैली पनि आत्महत्याको एउटा कारक रहेको उनले बताइन् । ‘सहनशील हुन र धैर्यधारण गर्न नसक्ने पुस्ताका कारण पनि आत्महत्याका घटना बढिरहेका छन्,’ उनले भनिन्।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।