५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो



अ+ अ-

चितवन। चितवन निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकिएको छ ।

भरतपुर महानगरपालिका-१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जमिनमा रङ्गशाला निर्माण भइरहेको हो ।

भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार चार वटा प्यारापिट (रङ्गशालामा दर्शक बस्नका लागि तह तहमा बनाइएको सिँढीजस्तो संरचना)मध्ये तीन वटाको ढलान भइसकेको छ भने एउटाको डन्डी बाँधेर ढलानको तयारी गरिएको छ । यी प्यारापिट दर्शकका लागि बनाइएको हो ।

खेलाडी र विशिष्ट पाहुनाका लागि निर्माण गरिएका दुई वटा टावर मध्ये एउटालाई ‘फिनिसिङ’ (अन्तिम प्लास्टर, रङरोगन, टायल-मार्बल बिछ्याउनेलगायत काम गरी आकर्षक बनाउने) गर्ने काम भइरहेको छ भने अर्कोको अन्तिम ढलान सकिएको छ । दोस्रो टावरको फिनिसिङको काम अब गर्ने तयारी गरिएको छ ।

“मैदानको कामका लागि पाइप आइसकेको छ । भुइँमा पाइप बिछ्याएर माटोले पुरेपछि त्यसमाथि दुबो लगाइने छ । सडकबाट रङ्गशालासम्म जाने बाटोको सबग्रेडको काम सकिएको छ”, इन्जिनियर पोखरेलले भन्नुभयो, “ढलमाथिको ढकन राखिएको छ । कम्पाउन्डको काम सकिएको छ । अहिले दैनिक १०० हाराहारी मजदुरले काम गरिरहेका छन् ।”

महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यका अनुसार महँगी, बजेट निकासामा केही समय लागेको र जेनजी आन्दोलनको समयमा कामले गति लिन नसक्दा लक्ष्यअनुसार प्रगति हुन नसकेको हो । उहाँका अनुसार हिमालयन-कालिन्चोक-बिबीआर ज्वाइन्टभेन्चरले आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी २०८१ साल असार २३ गते ७८ करोड ५० लाख ९१ हजारमा निर्माण सम्झौता गरेको थियो ।

पछिल्लो समय कामलाई तीव्रता दिइएको बताउँदै इन्जिनियर आचार्यले परियोजनाको वित्तीय साझेदारी अनुसार बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च व्यहोर्ने सहमति भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार महानगरले व्यहोर्ने खर्चमा भने सङ्घीय सरकारले सहयोग गरेको छ ।

रङ्गशालामा १५ हजार दर्शक क्षमताको प्यारापिट बनिरहेको हो । दुई वटा तीन तले भिआइपी टावर तथा खेलमैदान हुने छन् । वि.सं.२०७५ माघ १६ गते राजधानीको राष्ट्रियसभा गृहमा चितवनको रामपुरमा निर्माणाधीन ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको घोषणा गरिएको थियो । सुरुमा धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकासँगको सहकार्यमा रङ्गशाला निर्माण गर्ने सहमति गरे पनि काम गर्न नसकेपछि महानगरलाई हस्तान्तरण गरिएको थियो । रासस