काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ईन्दिरा रानामगरले गैरसरकारी संस्था (एनजीओ)लाई दोष दिनुभन्दा सरकारले बालबालिका तथा लक्षित वर्गको संरक्षणमा प्रत्यक्ष जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ ।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद रानामगरले एनजीओ तथा नागरिक समाजले राज्यको जिम्मेवारीसमेत वहन गरिरहेको बताउनुभयो । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा एनजीओ तथा आईएनजीओले महत्वपूर्ण काम गरिरहेको उहाँको भनाइ थियो ।
उहाँले राम्रो काम गरिरहेका एनजीओलाई नियन्त्रण गर्नेभन्दा सहकार्य र नियमित अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । एनजीओले प्राप्त गर्ने रकमको पारदर्शिता तथा त्यसको प्रभावकारी अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो ।
सांसद रानामगरले सरकारले बालबालिकाको संरक्षणका लागि स्पष्ट नीति र कानुनी व्यवस्था गर्दै उनीहरूको शिक्षा, खाना तथा बसोबासको जिम्मेवारी लिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अरुलाई दोष दिनुभन्दा पहिला सरकारले जिम्मेवारी लिनुपर्यो । सरकारले गर्न नसकेका काम एनजीओहरूले गरिरहेका छन् । आफू पनि गर्न नसक्ने र अरुले गरिरहेको कामलाई पनि सहज नबनाउने प्रवृत्ति ठीक होइन ।”
एनजीओ तथा नागरिक समाजका कारण मुलुकका विभिन्न क्षेत्रमा महत्वपूर्ण काम भइरहेको दाबी गर्दै उहाँले निजी क्षेत्र, एनजीओ र नागरिक समाजको योगदानलाई नकार्न नहुने बताउनुभयो ।
सांसद रानामगरले समाज कल्याण मन्त्रालयको सम्पत्ति तथा स्रोतसाधनको समेत प्रभावकारी उपयोग हुन नसकेको बताउनुभयो । यस्तै, कर्णालीलगायत दुर्गम क्षेत्रमा जाने सरकारी तथा अन्य स्रोतको रकमको प्रभावकारी अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
– न्युज एजेन्सी नेपाल











