३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकलाई आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै महामन्त्री आचार्यले प्रवासमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउने गरी आवश्यक कानुनी तथा प्राविधिक तयारी तत्काल सुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले रास्वपाको ‘क्यान्डिडेट क्लब’मार्फत विश्वभर रहेका पार्टी कार्यकर्ताको सहभागितामा उम्मेदवार छनोट गर्ने प्रक्रिया सुरु भएको उल्लेख गर्दै विदेशमा रहेका नेपाली नागरिकलाई समेत आगामी स्थानीय तह निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

महामन्त्री आचार्यले विदेशमा रहेका नेपालीको ‘नोट चल्ने तर भोट नचल्ने’ अवस्था अन्त्य गर्नुपर्ने रास्वपाको नीति रहेको बताउनुभयो । उहाँले स्थानीय तह निर्वाचनमा संसारभर रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न आवश्यक कानुनी र प्राविधिक काम आजैदेखि सुरु गर्न सरकारसँग आग्रह गर्नुभयो ।

‘हामी चाहन्छौँ, यो पटकको स्थानीय तहको निर्वाचनमा संसारभरका प्रवासी नेपालीले भोट हाल्न पाऊन् । त्यसका लागि जे–जे कानुनी काम गर्नुपर्नेछ, त्यसको सुरुवात गरौँ । त्यसको प्राविधिक पाटो अझ बढी पेचिलो हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘हामीले भन्ने गरेका छौँ—नोट चल्ने, भोट नचल्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ । त्यसकारण म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । यो पटकको स्थानीय तह निर्वाचनमा प्रवासी नेपालीले भोट हाल्न पाउनुपर्ने कुरालाई प्राथमिकतामा राखेर आजैबाट त्यसको काम सुरु गरियोस् ।’

हाल करिब ४० लाख नेपाली नागरिक रोजगारी तथा अन्य सिलसिलामा विदेशमा रहेको अनुमान गरिन्छ । रास्वपाले आगामी स्थानीय तह निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी र प्राविधिक तयारीलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेको हो