३ भाद्र २०८३, बुधबार
,
Latest
मन्त्रीबीच विवाद छैन, हेरफेरको तयारी पनि छैनः सभापति लामिछाने प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार बढ्यो एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग



अ+ अ-

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ललिता कुमारीले बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रणका लागि अभिभावकलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कुमारीले बालबालिका रोए, हाँसे वा खाना खुवाउने क्रममा मोबाइल दिने प्रवृत्ति बढ्दै गएको भन्दै यसले बालबालिकाको बालापन नै स्क्रिनको जिम्मामा पुगेको बताउनुभयो ।

उहाँले बालबालिकाको संवेदनशील अवस्थासमेत भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने तथा भ्युजका लागि उनीहरूलाई बनावटी व्यवहार सिकाउने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

“बच्चा रोयो भने मोबाइल, खाना खुवाउन मोबाइल, हामी व्यस्त भयौँ मोबाइल । बच्चा हाँसे पनि मोबाइल र रोए पनि मोबाइल दिने कुरा कस्तो हो ?” उहाँले प्रश्न गर्नुभयो ।

अत्यधिक स्क्रिन टाइमले बालबालिकामा विकाससम्बन्धी समस्या देखिन सक्ने उल्लेख गर्दै उहाँले मोबाइलको बढ्दो प्रयोग नियन्त्रण गर्न अभिभावकलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

“हामीले बच्चाको बालापनलाई स्क्रिनको जिम्मा लगाएका छौँ । मोबाइलको लतले बाल्यकाल खोस्न सक्छ, जुन गुम्यो भने कहिल्यै फर्किँदैन,” उहाँले भन्नुभयो ।

सांसद कुमारीले सामाजिक सञ्जालमा भ्युजका लागि बालबालिकाको प्राकृतिक व्यवहारभन्दा बनावटी व्यवहारलाई प्रोत्साहन गर्ने प्रवृत्ति रोक्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकाको विकास र मानसिक स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै अभिभावकलाई लक्षित विशेष सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

पछिल्लो समय स्मार्टफोन तथा डिजिटल उपकरणको अत्यधिक प्रयोग विश्वव्यापी रूपमा बढिरहेको छ । यसको असन्तुलित प्रयोगले बालबालिकाको दैनिक व्यवहार, अध्ययन, निद्रा, शारीरिक सक्रियता तथा सामाजिक अन्तरक्रियामा असर पार्न सक्ने भन्दै अभिभावकको निगरानी र उचित डिजिटल बानी विकासमा जोड दिइँदै आएको छ ।