काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वागमती प्रदेशमा सरकार निर्माण प्रक्रियामा पार्टीले कुनै पनि दललाई समर्थन नगरेको स्पष्ट पार्नुभएको छ ।
अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत वागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका किरण थापाको समर्थनमा बुझाइएको पत्र पार्टीको निर्णयविपरीत भएको बताउनुभएको हो ।
उहाँले उक्त विषयमा राप्रपाले प्रदेश प्रमुखसमक्ष जानकारी गराइसकेको समेत उल्लेख गर्नुभएको छ । लिङ्देनका अनुसार पार्टीको आधिकारिक निर्णयविपरीत गतिविधिमा संलग्न व्यक्तिहरूमाथि अनुशासनको कारबाही प्रक्रिया समेत सुरु भइसकेको छ ।
अध्यक्ष लिङ्देनले राप्रपाको तर्फबाट वागमती प्रदेशमा सरकार गठनका लागि कुनै पनि दललाई समर्थन नरहेको स्पष्ट पार्दै पार्टीको निर्णयलाई उल्लंघन गर्ने कार्य स्वीकार्य नहुने संकेत गर्नुभएको छ ।
वागमती प्रदेशमा सरकार गठनका लागि दलहरूबीच समर्थन जुटाउने प्रयास भइरहेका बेला राप्रपा अध्यक्ष लिङ्देनको यो धारणा सार्वजनिक भएको हो ।











