काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न सात दिनको समयसीमा तोकेर कार्यदल गठन गरेको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
बैठकपछि निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न कार्यदल गठन गरिएको बताउनुभयो । उहाँका अनुसार कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारीबोध तथा कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप प्रभावकारी र जनपक्षीय बनाउने अपेक्षा गरिएको छ ।
पार्टी सभापतिसहित शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे पनि विस्तृत छलफल भएको थियो । बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भएका काम तथा प्रगतिको विवरण प्रस्तुत गरेका थिए भने सांसदहरूले निर्वाचन क्षेत्रका समस्या र जनस्तरबाट आएका गुनासाबारे जानकारी गराएका थिए ।
त्यसैगरी, सरकारले गरेका कामलाई आम नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउन देखिएका समस्या तथा सञ्चार समन्वयमा भएका कमजोरीबारे समेत बैठकमा समीक्षा गरिएको उपनेता पराजुलीले बताउनुभयो ।
बैठकमा बजारमा ग्यास आपूर्तिको अवस्था र जनस्तरमा देखिएको अभावबारे पनि छलफल भएको थियो । ग्यासको आपूर्ति बढे पनि बजारमा अभाव देखिनुको कारणबारे मन्त्रीहरूले बैठकमा जानकारी गराएको पराजुलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गत वैशाखमा २२ लाख सिलिन्डर बजारमा पुगेकोमा साउन महिनामा ४० लाख पुग्दा पनि किन अभाव देखियो भन्ने विषयमा माननीय मन्त्रीज्यूहरूले जानकारी गराइरहनुभएको छ ।”
रास्वपाले सदन तथा सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले संसदीय दलको बैठक बसेको जनाएको छ ।











