काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले मुलुकमा बढ्दो मनसुनजन्य विपद् व्यवस्थापन, जनसरोकारका समस्या र सरकारको कूटनीतिक नीतिमाथि प्रश्न उठाउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहनुभएका सांसद पुनले सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधन गर्नुभन्दा राज्यशक्तिको दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो ।
जाजरकोट, रोल्पा र बागलुङलगायत जिल्लामा विपद्का कारण ठूलो क्षति भए पनि उद्धार, पुनःस्थापना र पुनर्निर्माणको काम सुस्त रहेको उहाँले बताउनुभयो । विपद् प्रभावित क्षेत्रको जोखिम पहिचानका लागि भूगर्भिक अध्ययन टोली तत्काल पठाउन तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
गृहमन्त्री आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहेको उल्लेख गर्दै पुनले देशभरको विपद्को अवस्था, उद्धार तथा राहत वितरणबारे सरकारले तत्काल सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।
सरकारले जनतालाई सेवा प्रवाह गर्ने सवालमा पुरानै प्रवृत्ति दोहोर्याएको उहाँको आरोप थियो । ग्यास, मल र राहदानी लिनसमेत नागरिकले घण्टौँ लाइन बस्नुपर्ने अवस्था कायमै रहेको भन्दै उहाँले नयाँ भनिएका शक्तिहरू सरकारमा पुगे पनि जनताको दैनिक जीवनमा अपेक्षित सुधार आउन नसकेको टिप्पणी गर्नुभयो ।
विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएका हेलिकप्टर तथा सेनाको स्काई ट्रक सामान्य स्वास्थ्य समस्या भएका मन्त्रीलाई काठमाडौं ल्याउन प्रयोग गरिएकोप्रति पनि पुनले आपत्ति जनाउनुभयो । राज्य एकातिर विपद्को सामना गरिरहेका बेला अर्कोतिर मन्त्रीहरूको सुखसुविधाका लागि राज्यका साधनस्रोत दुरुपयोग गर्नु गैरजिम्मेवारपूर्ण भएको उहाँको भनाइ थियो ।
परराष्ट्र नीतिको विषयमा पुनले संविधानले स्पष्ट गरेको असंलग्न परराष्ट्र नीतिअनुसार नेपाल कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किन नहुने बताउनुभयो । तिब्बत र दलाई लामासम्बन्धी सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रियस्तरमा नेपालको स्वाधीनतामाथि प्रश्न उठ्न सक्ने उहाँले चेतावनी दिनुभयो ।
छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा सरकारले अपरिपक्वता र दोहोरो चरित्र देखाएको आरोप लगाउँदै पुनले परराष्ट्र नीतिमा स्पष्टता र स्थिरता आवश्यक रहेको बताउनुभयो ।
सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संविधानको धारा ५ र २६ बमोजिम तत्काल आवश्यक कानून निर्माण गर्न सरकारलाई रुलिङ गर्न सभामुखसँग उहाँले माग गर्नुभयो । धर्मलाई राजनीतिको हतियार बनाउने स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै त्यस्ता गतिविधिप्रति सरकारले शून्य सहनशीलताको नीति लिनुपर्नेमा पनि पुनले जोड दिनुभयो ।











