७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

घर्रामा उत्तरपुस्तिका भेटिएपछि लेखा अधिकृत पक्राउ

घर्रामा उत्तरपुस्तिका भेटिएपछि लेखा अधिकृत पक्राउ
अ+ अ-

काठमाडौँ । निजी घर्रामा उत्तरपुस्तिका भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत कमल दाहाललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दाहालको कार्यकक्षको निजी प्रयोजनको घर्रामा स्नातक तहका केही उत्तरपुस्तिका भेटिएको थियो ।

आइतबार पक्राउ परेका उनीमाथि उत्तरपुस्तिकासम्बन्धी विषयमा अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । ‘योभन्दा बढी मलाई थाहा छैन,’ उनले भने ।

व्यक्तिगत घर्रामा व्यवस्थापन (बीबीएस) र शिक्षाशास्त्र (बीएड) संकायको वार्षिक परीक्षाको उत्तरपुस्तिका भेटिएपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले त्यसलाई शंकास्पद रूपमा लिई तत्काल कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । परीक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाबाहेक अन्त उत्तरपुस्तिका लैजान मिल्दैन ।

परीक्षा तालिका प्रकाशनदेखि नतिजा प्रकाशनसम्ममा पनि काको लेखा शाखा र त्यहाँ काम गर्ने कर्मचारीको कुनै भूमिका हुँदैन तर दाहालले परीक्षार्थीको रोल नम्बरसहितको उत्तरपुस्तिका झन्डै एक वर्षदेखि आफ्नो घर्रामा लुकाइराखेका थिए ।

पनिका स्रोतका अनुसार उत्तरपुस्तिका लुकाएको बारे अन्य कर्मचारीले परीक्षा नियन्त्रक पुष्पराज जोशी र त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीलाई जानकारी गराएका थिए । त्रिवि र पनिकाले आन्तरिक छानबिन गरिरहेका बेला अख्तियारले पनिकामा छापा मारेर दाहाललाई पक्राउ गरेको हो ।

रजिस्ट्रार र परीक्षा नियन्त्रकले छानबिनका नाममा गुपचुप राख्न खोजेको शंका गर्दै केही कर्मचारीले अख्तियारमा उजुरी गरेका थिए । ‘के नियतले उत्तरपुस्तिका लुकाएर राखिएको हो, खुलेको छैन । पनिकाले पनि आन्तरिक छानबिन गरिरहेको छ,’ पनिका स्रोतले भन्यो, ‘अख्तियारले पनि छानबिन गरिरहेको होला ।’

अख्तियारको नियन्त्रणमा रहेका दाहालले उदयपुरको गाईघाटस्थित एक निजी क्याम्पसका कर्मचारीले आफूलाई उत्तरपुस्तिका उपलब्ध गराएको बयान दिएका छन् । ‘लेखाका कर्मचारीका हातमा कुनै पनि प्रक्रियाबाट उत्तरपुस्तिका पुग्ने सम्भावना हुँदैन,’ पनिकाका एक कर्मचारीले भने, ‘रोल नम्बरसहितको उत्तरपुस्तिका हुनु त झन् गम्भीर हो ।’ बदनियतपूर्ण तरिकाले उत्तरपुस्तिका राखेको कर्मचारीहरूले अनुमान गरेका छन् ।

उनको घर्रामा भेटिएका बीबीएसका दुई थान उत्तरपुस्तिकामध्ये दुइटामै परीक्षार्थी फेल छन् । बीएडको एक थान उत्तरपुस्तिकामा रोल नम्बर भएका विद्यार्थी पास भएको पाइएको अख्तियार स्रोतले बतायो । परीक्षा सकिएर नतिजासमेत प्रकाशित भइसकेकाले उत्तरपुस्तिका नक्कली हुन सक्ने आशंका पनि छ । अनुसन्धानमा संलग्नहरूले उत्तरपुस्तिकालाई मूल उत्तरपुस्तिकाको मुठोमा मिसाउने योजना हुन सक्ने आशंका गरेका छन् ।

परीक्षा नियन्त्रक जोशीले अनधिकृत रूपमा उत्तरपुस्तिका राखेको भेटिएकाले अख्तियारले अधिकृत दाहाललाई नियन्त्रणमा लिएको जनाए । ‘कापी कसरी आयो, किन राखियो भनेर छानबिन भइरहेको छ,’ उनले भने, ‘भेटिएका उत्तरपुस्तिका पनि अख्तियारले लगेकाले विस्तृत छानबिन गर्न सकेका छैनौं ।’

भेटिएका उत्तरपुस्तिकामा केन्द्राध्यक्षको समेत हस्ताक्षर नभएकाले कुन केन्द्रको भनेर पत्ता लगाउन समेत नसकिएको उनको भनाइ छ । नियन्त्रणमा लिनुअघि नै अख्तियारले दाहाललाई निलम्बन गर्न पत्रपठाएको थियो । सरकारी कर्मचारी अख्तियारको नियन्त्रणमा परेपछि स्वतः निलम्बन हुन्छन् ।

यसअघि त्रिविकै परीक्षा शाखाका कर्मचारीको मिलेमतोमा फेल भएका विद्यार्थीलाई मनोमानी अंक थपेर पास गराएको भेटिएको थियो । पनिका गोप्य शाखाका कर्मचारीले परीक्षार्थीबाट घूस लिएर शैक्षिक प्रमाण दिने गरेको फेला परेको हो । पनिका अधिकृत रामबहादुर कर्माचार्य, भक्तपुर क्याम्पस दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र केदार भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ । उक्त मुद्दा विचाराधीन भएकै अवस्थामा पनिकाका लेखा अधिकृत अनधिकृत रूपमा उत्तरपुस्तिकासहित पक्राउ परेका हुन् ।

भ्रष्टाचार मुद्दाको सामना गरिरहेका शिक्षण सहायक कोइरालाले कर्माचार्यमार्फत अंक बढाएर मानविकी संकायका तीन विषयमा प्रमाणपत्र लिएका थिए । यसका लागि उनीहरूबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको अनुसन्धानबाट खुलेको थियो । स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफलमा अंक थप गरिएको थियो ।

१५ वटा विषयमा ३ देखि ५० नम्बरसम्म थपिएको थियो । तिनै कोइरालाले भट्टराईको प्रमाणपत्रमा समेत अंक थप गर्न लगाएका थिए । त्यतिबेला उत्तरपुस्तिका परीक्षण भएर आएपछि गोप्य शाखाका अधिकृत कर्माचार्यले मार्कस्लिपमा दिएको नम्बर कम्प्युटरमा इन्ट्री गर्ने बेला गडबड गरेका थिए । उनीहरूले अंक बढाएर लिएको प्रमाणपत्र त्रिविले रद्द गरिसकेको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।