खोटाङ। जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ ।
गत असार ४ गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्डअनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सीमाना हेरफेर, एकापसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी सरोकार भएका निकायसँग छलफल थालिएको हो ।
जिल्ला समन्वय समितिले साउन ३० गते दिक्तेलमा छलफल आयोजना गरेर जिल्लाका राजनीतिक दल, स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधि, सरोकार भएका निकायका प्रतिनिधिलगायतसँग स्थानीय तहको सीमाना र सङ्ख्याको पुनःसंरचनाका लागि प्रारम्भिक छलफल थालेको छ । पहिलो दिनको छलफलमा स्थानीय तहको सङ्ख्या तथा सीमाना हेरफेरसम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको अध्ययन समितिले सरोकार भएका निकायका प्रतिनिधिसँग बहस र छलफल गरेसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा मापदण्डअनुसार काम टुङ्ग्याउने उहाँले बताउनुभयो । उहाँका अनुसार १० स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका छन् भने ७९ वटा वडा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिले बाहेक जिल्लाका अधिकांश राजनीतिक दलका नेताले तत्कालका लागि जिल्लाको नगरपालिका, गाउँपालिका र वडाको सङ्ख्या घटाउन नहुने प्रतिक्रिया दिए पनि कुनै वडाको अपायक क्षेत्रलाई टुक्र्याएर पायक पर्ने अर्को वडा वा पालिकामा गाभ्न सकिने राख्नुभएको राईले जानकारी दिनुभयो ।
बैठकमा सहभागी नेताहरूले वडालाई घटाउनुको सट्टा आवश्यकताको आधारमा टुक्र्याएर दुई वटा वडा बनाउन पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।











