कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ ।
बाढीका कारण मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले डोरी तथा विशेष उद्धार उपकरण प्रयोग गरी ‘रोप रेस्क्यु’ प्रविधिबाट उद्धार गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार समयमै उद्धार टोली परिचालन गरिएकाले तीनै जनालाई सकुशल उद्धार गर्न सम्भव भएको हो । उद्धार गरिएकामा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका ५२ वर्षीय पुजारी निर्माण गिरी छन् ।
अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमास्थित नयाँपुल–विरेठाँटी सडकखण्ड नजिकै मोदी खोलाको बीचमा रहेको मन्दिरमा बाढी पसेपछि उनीहरू अलपत्र परेका थिए । बाढीले मन्दिरमा आवतजावतका लागि प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा पुलसमेत बगाएको छ । मन्दिरको केही भागमा समेत क्षति पुगेको छ ।
खोलाको बहाव तीव्र भएपछि तत्काल उद्धार आवश्यक देखिएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिकाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शरणबहादुर खड्काको नेतृत्वमा १३ जनाको रोप रेस्क्यु तथा गोताखोर टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थल पुगेको थियो ।
त्यस्तै, नेपाल प्रहरीको वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा १६ जनाको टोली उद्धारमा खटिएको थियो ।
बाढीका कारण अन्नपूर्ण गाउँपालिकाको नयाँपुल–घान्द्रुक सडकखण्डका विभिन्न स्थानमा करिब ३०० देखि ४०० मिटर सडकसमेत बगेको छ । सडक बगेपछि उक्त सडकखण्डमा यातायात आवागमन अवरुद्ध भएको छ ।
यसैगरी नयाँपुल क्षेत्रमा विद्युत्का पोलसमेत बाढीले बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । सडक र विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीय क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।
स्थानीय प्रशासनले घटनाबाट भएको विस्तृत क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको जनाएको छ ।











