काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद पूजा चौधरीले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि तथा खोपको चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद चौधरीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्याका बारेमा सरकारको ध्यनाकर्षण गराउनुभएको हो । सांसद चौधरीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क प्रश्तुत गर्दै नेपालका करिव २४.९ प्रतिशत नागरिकले उपचारका लागि आफ्नै खल्तीबाट खर्च गर्नुपर्दा आर्थिक कठिनाइ भोग्नुपरेको बताउनु भयो ।
सरकारी स्वास्थ्य संस्थामा खरिद प्रक्रिया समयमै अघि नबढ्दा गर्भवती, सुत्केरी र किशोरीहरूका लागि आवश्यक आइरन चक्की तथा रेबिजविरुद्धको खोपको अभाव भएको उहाँले उल्लेख गर्नुभयो ।
मधेस प्रदेशमा गर्मी र वर्षायामको शुरुवातसँगै सर्पदंशको जोखिम बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले मधेश प्रदेशका कुन अस्पताल र उपचार केन्द्रमा कति ‘भाइल’ एन्टि स्नेक भेनम मौज्दात छ, सोको विवरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । साथै, सर्पदंशका गम्भीर बिरामीका लागि भेन्टिलेटर, क्रिटिकल केयर र दक्ष जनशक्तिको सुनिश्चितता गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
सांसद चौधरीले नेपालको समृद्ध विविधता, संस्कृति र परम्परालाई अक्षुण्ण राख्दै राष्ट्रिय एकता बलियो बनाउन सरकार र सम्बन्धित निकायलाई सचेत गराउनु भयो ।











