काठमाडौं । सरकारले दुई जना बहालवाला सचिवको राजीनामा स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवद्वय कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो।
राजीनामा स्वीकृत भएपछि दुवै सचिव पदबाट बाहिरिएका छन्। पोखरेल पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवका रूपमा कार्यरत थिए भने अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीमा थिए।
निजामती किताबखानाको विवरणअनुसार अधिकारीले आगामी ४ भदौमा अनिवार्य अवकाश पाउँदै थिए। उनले अवकाशको करिब एक साताअघि नै राजीनामा दिएका थिए।
अर्कोतर्फ, पोखरेलको पदावधि २०८४ साल भदौ २३ गतेसम्म कायम रहने अवस्था थियो। तर, उनले पनि कार्यकाल बाँकी रहँदै राजीनामा दिएका हुन्।
मन्त्रिपरिषद्बाट राजीनामा स्वीकृत भएपछि मात्रै दुवै सचिवले पद छाडेको विवरण सार्वजनिक भएको हो।











