काठमाडाैँ । विभिन्न ग्यास कम्पनीले बजारमा नियमितरूपमा पर्याप्त एलपी ग्यास पठाइरहेको दाबी गरे पनि पोखरामा साउनको पहिलो सातादेखि देखिएको खाना पकाउने ग्यासको अभाव अझै सहज हुन सकेको छैन। ग्यासका लागि उपभोक्ता लामो समयदेखि लाइनमा बस्नुपर्ने अवस्था रहेको छ भने कतिपयले लाइनमा बसेर पनि ग्यास नपाएको गुनासो गरेका छन्।
यता ग्यास कम्पनीहरूले भने विगतका वर्षको तुलनामा यस वर्ष बढी परिमाणमा ग्यास बजारमा पठाइएको दाबी गरेका छन्। कम्पनीहरूका अनुसार चाडपर्व नजिकिँदै गर्दा अभाव हुन सक्ने आशंकामा उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि बजारमा कृत्रिम दबाब सिर्जना भएको हो।
गृहलक्ष्मी ग्यास कम्पनीका अनुसार गत आर्थिक वर्षको साउनमा कास्कीमा ३७ हजार सिलिन्डर बिक्री गरिएको थियो। तर, यस वर्ष साउन २५ गतेसम्मै ४७ हजार सिलिन्डर पोखरा पठाइसकिएको कम्पनीले जनाएको छ। विगतको तुलनामा बढी ग्यास बजारमा पठाइए पनि उपभोक्ताको लाइन भने घटेको छैन।
गृहलक्ष्मी ग्यास कम्पनीका महाप्रबन्धक भीम लामिछानेले साउनमा सामान्यतया ग्यासको खपत कम हुने भए पनि यस वर्ष बढी सिलिन्डर बजारमा पठाउँदा पनि अभाव देखिनुको मुख्य कारण उपभोक्ताले ग्यास मौज्दात राख्नु रहेको बताउनुभयो।
उहाँका अनुसार मध्यपूर्वमा तनाव उत्पन्न भएपछि सरकारले करिब चार महिनासम्म बजारमा आधा सिलिन्डर ग्यास बिक्री गर्ने व्यवस्था गरेको थियो। आधा सिलिन्डर बिक्री हुँदा बजारमा आपूर्ति सहज रहेको र उपभोक्ताले आवश्यकताभन्दा बढी मौज्दात नगरेको उहाँको भनाइ छ। तर, पुनः पूरा सिलिन्डर बिक्री सुरु भएपछि माग एक्कासि बढेको उहाँले बताउनुभयो।
पोखरामा गृहलक्ष्मीसहित शक्ति, बाबा, जानकीलगायत विभिन्न कम्पनीका एलपी ग्यास बिक्री हुँदै आएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले १४.२ केजीको पूरा सिलिन्डर वितरण सुरु भएपछि देशभर ग्यासको माग एकैपटक बढ्दा बजारमा केही असहजता सिर्जना भएको बताउनुभयो। बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न आग्रह गर्नुभएको छ। प्रशासनले ग्यास आपूर्ति सहज बनाउन पछिल्लो समय किराना पसलबाट समेत ग्यास बिक्री गर्ने व्यवस्था मिलाएको जनाएको छ।
बरालका अनुसार पोखरामा नियमितरूपमा ग्यास आइरहेको छ। जानकी ग्यासले मात्रै पनि एक दिनमा तीन हजार पाँच सय सिलिन्डर पठाउने गरेको उहाँले बताउनुभयो। उहाँले बजारमा ग्यासको वास्तविक अभावभन्दा पनि उपभोक्ताले मौज्दात राख्दा समस्या देखिएको दाबी गर्नुभयो।
जिल्लामा एलपी ग्यासको आपूर्ति सहज बनाउन प्रशासनले जिल्लाभित्र तथा बाहिर रहेका ग्यास उद्योग र नेपाल आयल निगमसँग समन्वय गरिरहेको जनाएको छ। प्रशासनले आपूर्ति प्रणालीलाई थप व्यवस्थित गर्दै उपभोक्ताको सास्ती कम गर्ने प्रयास भइरहेको जनाएको छ।











