२६ श्रावण २०८३, मंगलवार
,
Latest
गगन थापा र शेखर कोइरालाबीच भेटवार्ता प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका ५ निर्णयहरू सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै



अ+ अ-

काठमाडौं । गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १२ अर्ब रुपैयाँ भित्रिएको छ । मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिल्सिनाले यस्तो जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले भने, ‘गत वर्ष नेपालमा करिब १२ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको तथ्यांकमा देखिन्छ । त्यसमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांश फिर्ताको रूपमा बाहिरिएको छ ।’

उनका अनुसार नेपाल राष्ट्र बैंकले हरेक वर्ष एफडीआई रिपोर्ट सार्वजनिक गर्छ । पछिल्लो प्रतिवेदन अनुसार हालसम्मको कुल मौज्दात एफडीआई ३४० अर्ब रुपैयाँ बराबर छ । जसमध्ये सबैभन्दा बढी लगानी भारतबाट छ, जुन करिब ५६–५७ प्रतिशत जति हुन आउँछ । त्यसपछि चीन, आयरल्यान्ड, अष्ट्रेलिया र सिङ्गापुर जस्ता देशहरू पर्छन् ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी एफडीआई तीन वटा क्षेत्रमा आएको छ । जुन उत्पादनमूलक क्षेत्र, जलविद्युत र बैंक तथा वित्तीय संस्था लगायत रहेका छन् । यी तीन क्षेत्रले मात्रै करिब ८० प्रतिशत हिस्सा ओगटेका छन् । उद्योगतर्फ ५६ प्रतिशत र सेवा क्षेत्रतर्फ ४४ प्रतिशत लगानी रहेको तथ्यांकमा देखिन्छ ।

‘एफडीआइ यो विदेशी वित्तीय स्रोत मात्र होइन । यो प्रविधि, व्यवस्थापन, सुशासन र अन्य थुप्रै कुराहरू पनि हुन् जुन हामीले एफडीआईसँगै भित्र्याउँछौ । त्यसैले एफडीआई आउनु भनेको स्रोत आउनु मात्र होइन, हामीले त्यो सोच्ने प्रविधिदेखि लिएर उत्कृष्ट अभ्यासहरू पनि सँगसँगै लिएर आइरहेका हुन्छौँ । त्यसैले एफडीआई इन्फ्लोलाई हामीले सङ्ख्याको रूपमा मात्र हेर्नुहुँदैन’, उनले भने ।

एफडीआइलाई अलिकति फरक तरिकाले र वृहत् दृष्टिकोणबाट सोच्नुपर्ने उनको भनाई छ । नेपालभन्दा कम एफडीआई आकर्षित गर्ने देशहरूमा अफगानिस्तान र भुटान मात्र छन् । माल्दिभ्स जस्तो सानो देशमा पनि ७६१ मिलियन डलरको एफडीआई इन्फ्लो छ । भारतको २८ अर्ब , पाकिस्तानको २ अर्ब, बंगलादेशको १.३८अर्ब र श्रीलङ्काको ७११ मिलियन डलर छ । यी सबै देशहरूको जिडिपीसँगको अनुपात हेर्दा करिब ०.५ देखि ०.६ प्रतिशतको हाराहारीमा छ । तर हाम्रो अवस्था एकदमै कमजोर रहेको उनले जानकारी दिए ।

‘हामी एफडीआईमा कहाँ छौँ र हाम्रो अवस्था कस्तो छ भन्ने बुझ्न सजिलो छ । अघिल्लो वर्ष विश्व बैंकको तथ्याङ्क अनुसार विश्वभरको एफडीआई इन्फ्लो ८४७.८ बिलियन अमेरिकी डलर थियो । यो भनेको विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको करिब ०.७५ प्रतिशत हो । सोही अवधिमा नेपालको एफडीआई इन्फ्लो ७३.८ मिलियन अमेरिकी डलर मात्र थियो । यो हाम्रो जीडीपीको ०.१८ प्रतिशत मात्र हो । जहाँ विश्वव्यापी औसत ०.७५ प्रतिशत छ, हामी ०.१८ प्रतिशतमा सीमित छौँ’, तिमिल्सिनाले भने ।