काठमाडौँ। उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् ।
आईतवार साँझ गएको सो पहिरोले तीनवटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् ।
प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आईतवार राति करिव ७ बजे पहिरो खसेको थियो । पहिरोमा परी कुल १३ जना पुरिएकोमा सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।
मृत्यु हुनेहरूमा १७ वर्षीया एक किशोरी, दुई जना ९ वर्षीय बालक र ५६ वर्षीय एक पुरुष रहेका छन् । उद्धार गरिएकामध्ये गम्भीर घाइते तीन जनाको हाल अस्पतालमा उपचार भइरहेको छ ।
वर्षा जारी रहेकै अवस्थामा पनि उद्धारकर्मीहरूले बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिएका छन् । पहिरोको जोखिमका कारण हालसम्म १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अन्य सात जनालाई स्थानीय वडा कार्यालयमा आश्रय दिइएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल











