काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका सांसद महन्थ ठाकुरले समाजमा बढ्दो धार्मिक असहिष्णुताप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिनुभएको छ ।
सोमवार संघीय संसद्को विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ को कार्यान्वयनका सम्बन्धमा भएको छलफलमा बोल्दै सांसद ठाकुरले सामाजिक सद्भाव कायम राख्न कानूनी र नैतिक आधार बलियो हुनुपर्नेमा जोड दिनुभएको हो ।
सांसद ठाकुरले नेपालको विविधतापूर्ण समाजमा एउटा समुदायको धार्मिक गतिविधि वा नाराबाजी अर्को समुदायका लागि असहज बन्ने गरेको उल्लेख गर्नुभयो । मानवीय नैतिकताको अभावमा धर्मका नाममा विवाद हुने गरेको तर्क गर्दै उहाँले भगवानको नाममा हुने झगडामा नैतिकताको खोजी गरिनुपर्ने बताउनु भयो ।
नेपाली संस्कृतिलाई ’प्यासिभ’ अर्थात् सहनशील संस्कृतिका रूपमा चित्रण गर्दै उहाँले यसलाई कमजोरीका रूपमा लिन नहुने बताउनु भयो । समाजमा अराजकता फैलिन नदिन सरकारले कडा कानुनी व्यवस्था र दण्ड सजायको प्रावधान राख्नुपर्ने उहाँको सुझाव छ । राष्ट्रिय सदाचार नीतिको प्रभावकारी कार्यान्वयनले नै समाजमा सुशासन र सद्भाव कायम गर्न मद्दत पुग्ने उहाँको निष्कर्ष छ । –न्युज एजेन्सी नेपाल











