काठमाडौँ: सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी चयन गरेको छ ।
प्रतिष्ठानका रिक्त पदाधिकारीमा नियुक्तिका लागि गठित बेग्ला बेग्लै सिफारिस समितिको सिफारिसमा आधारमा प्रधानमन्त्री वालेन्द्र शाहले ती प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा जारीे प्रेस विज्ञप्तिका अनुसार नियुक्त भएकामा नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा कुमार नगरकोटी (सिन्धुली), उपकुलपतिमा अविनाश श्रेष्ठ (पर्वत) तथा सदस्य–सचिवमा रोशन शेरचन (रुपन्देही) नियुक्त हुनुभएको छ । त्यसैगरी परिषद् सदस्यमा प्रतिसरा मानन्धर (काठमाडौँ), कृष्णराज चौधरी (दाङ), सीता सुब्बा (तेह्रथुम), तीर्थबहादुर गुरुङ (कास्की), रूपा कुमारी (सिराहा), नवीन नेपाली (दाङ), दीपक सापकोटा (काभ्रे) र दुर्गाबहादुर घर्ती (सुर्खेत) हुनुहुन्छ ।
ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा एरिणा ताम्राकार (ललितपुर), उपकुलपतिमा चन्द्रश्याम डङ्गोल (ललितपुर) तथा ) सदस्यसचिवमा कैलाशकुमार श्रेष्ठ (दोलखा नियुक्त हुनुभएको छ । परिषद् सदस्यमा जुपिटर प्रधान (काठमाडौँ), कुबिर देवान (झापा), सङ्गी श्रेष्ठ (ललितपुर), ध्रुवराज शर्मा (बाँके), ओमप्रकाश यादव (सिरहा) र वीणा पौड्याल (ललितपुर) नियुक्त हुनुभएको छ ।
नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति पदमा ब्रजेश खनाल (काठमाडौँ), उपकुलपतिमा झुमा बनेम (ताप्लेजुङ) तथा )–सदस्यसचिवमा भुपेन्द्रसिंह रायमाझी (मोरङ नियुक्त हुनुभएको छ । परिषद् सदस्यमा छेन्दोक हाङ राई (झापा), जीतबहादुर देउजा (भक्तपुर), सुबिमा श्रेष्ठ (ललितपुर), सरस्वती चौधरी (बर्दिया), राजन मुकारुङ (भोजपुर) र रेखाशाह गुरुङ (धादिङ) नियुक्त हुनुभएको छ ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव जयनारायण आचार्यद्वारा जारी विज्ञप्तिमा यही साउन २० गते प्रधानमन्त्री एवं प्रमुख संरक्षक शाहले ती नियुक्ति गर्नुभएको जनाइएको छ । संस्कृतिमन्त्री एवं संरक्षक खडक राज पौडेल (गनेस)को संयोजकत्वमा रहेका अलगअलग समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो ।रासस











