२२ श्रावण २०८३, शुक्रबार
,
Latest
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद लुम्बिनीमा ‘एकीकृत सूचना पोर्टल’ कार्यान्वयन हुँदै प्रतिनिधिसभा : जनताले भोगेका समस्या समाधान गर्न आग्रह मध्यपुरथिमिको चार वर्षः शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा प्रगति एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउनेगरी समितिबाट एकैदिनमा पारित विधेयक प्रतिनिधि सभामा पेश वैदेशिक रोजगार क्षेत्रमा नीतिगत सुधारको माग गर्दै व्यवसायीद्वारा आन्दोलनको घोषणा, श्रमिक पठाउने कार्य स्थगित पर्यटन विधेयक, २०८१ लाई उदार र समयसापेक्ष बनाउन विज्ञहरूको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै



अ+ अ-

काठमाडौँ। बक्सिङ टोलीले बीसौँ एसियाली खेलकुदको तयारी प्रशिक्षण भारतको आसामस्थित गुवाहटीमा गर्ने भएको छ । यसका लागि सात खेलाडीसहित नौ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ ।

जापानको आइची/नागोयामा आगामी असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुदमा चार पुरुष र तीन महिला मुक्केवाजले नेपालको चुनौती पेस गर्नेछन् । पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोकामगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिस्पर्धा गर्नेछन् ।  महिला ५१ केजीमुनि रमिशा श्रेष्ठ, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङ सहभागी हुनेछन् ।

खेलाडीले स्पोट्र्स अथोरिटी अफ इन्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिन तयारी प्रशिक्षण गर्ने नेपाल बक्सिङ महासङ्घका सचिव पुष्करराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार टोली त्यतैबाट जापान जानेछ ।

रविनबाहेक सबैको पहिलो एसियाड सहभागिता हो । रविनले १९औँ एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए । चन्द्र सन् २०२५ मा दुबईमा भएको आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक कास्य पदक विजेता पनि हुन् । चन्द्रको कास्य पदक नेपाली बक्सिङको इतिहासमा हालसम्मकै ठूलो हो । प्रशिक्षकमा राज श्रेष्ठ तथा दीपक महर्जन छन् । व्यवस्थापकमा नेपाल बक्सिङ महासङ्घका महासचिव मानबहादुर भण्डारी रहेका छन् । भण्डारी केहीसमय पछि भारत जानेछन् ।

एसियाली खेलकुदमा समग्रमा बक्सिङले तीन फरक संस्करणमा हालसम्म छ कास्य पदक जितेको छ । बक्सिङले दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १०औँ संस्करणमा पहिलोपटक पदक जितेको थियो । त्यसबेला दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल र मनोजबहादुर श्रेष्ठले कास्य पदक जितेका थिए । बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो ।

सन् १९९० मा चीनको बेइजिङमा भएको ११औँ संस्करणमा चित्रबहादुर गुरुङ तथा सन् २०१० मा चीनकै ग्वाङझावमा भएको १६औँ एसियाडमा हालका टोलीका प्रशिक्षकमध्येका दीपकले नेपाललाई कास्य पदक दिलाएका थिए ।

दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ संस्करणदेखि बक्सिङ पदकविहीन छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहता, नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेलगायतले आज यहाँ आयोजित एक कार्यक्रमका बीचमा बिदाइ गर्नुभयो ।