१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग

पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’

पुर्खाको नासो ‘सिस्नो खोस्ने पर्व’
अ अ+ अ-

बागलुङ । ‘रुनासुङ्गे, पुसापु, घुँयाली….’ गीत गुञ्जिइरहेको छ । एकनास बजिरहेछ, ढ्याङ्ग्रो । बारीको देउता पूज्ने ढुङ्गा छेउ टुक्रुक्क बस्नुभएको छ, ८० वर्षीय गुरुबा जङ्गबहादुर रोका । रनवन पुकार्दै उहाँ गीत भट्याउनुहुन्छ, अरु गला मिलाउँछन् । ढ्याङ्ग्रोको तालमा गाइने उक्त गीतलाई ‘वन गन्ने’ पनि भनिन्छ ।

यी शब्द र दृश्य ताराखोला गाउँपालिका–४ तारागाउँको परम्परागत ‘भदोरै सिस्नो खोस्ने पर्व’को हो । पर्वको वर्णन यत्तिकैमा सकिन्न । कथा लामो छ । पूजा र बली दिने ढुङ्गा जसलाई गाउँलेले डम्मरु (उखुरधुम) भन्छन्, त्यसकै आडमा कटुस र अम्रिसोको लिङ्गो गाडिएको छ ।

लिङ्गोलाई स्थानीय भाषामा ‘सितम सेउला’ र ‘बजा सल्ला’ भन्ने गरिन्छ । लिङ्गोमुनि पूजा, धूपबत्ती चलिरहेको छ । गुरुबासँगै पूजारीले बीचबीचमा सगुन पिइरहेका छन् । गीतमा वन गन्दै जाँदा तोकिएको ठाउँमा रोकिएर सगुन लिने (फलाम खाने) चलन छ । गाउँका साँध सीमामा रहेका वन, बुकी, खर्क र गोठलाई गीतमार्फत सम्झिइन्छ ।

गीतलाई बूढापाकाले बाचा बाँधेको रुपमा पनि लिन्छन् । खाम भाषामा गाइने भएकाले जो कोहीलाई गीत बुझ्न कठिन पर्छ । पुर्खा कुलपितृ र देवीदेवतालाई गीतबाटै घुमाएर कुल (हेम्थो) घरमा ल्याएर राखिन्छ । वन गन्दै जाँदा बीचतिर पुगेपछि राँगोको बली दिने बेला हुन्छ । बली दिँदा ढ्याङ्ग्रोको ताल पनि फर्कन्छ ।

जिउँदो राँगोको सात करङ भाँचेपछि मुटु निकालेर कुल घरको सिरानमा चढाउने परम्परा छ । बिहान ४ बजे राँगोको बली दिएपछि पुनः ढ्याङ्ग्रोको तालमा गीत ९वन गन्ने० शुरु हुन्छ । गीतबाट घुमाइफिराइ पितृलाई कुल घरमा ल्याएपछि दिउँसोपख सुँगुरको बली दिने बेला हुन्छ ।

कुल घरको पछाडि बारीमा रहेको डम्मरु ९उखुरधुम० ढुङ्गामा सुँगुरको बली दिइन्छ । उल्टो पारेर लिङ्गोमा झुण्डाइएको सुँगुरको मुख काटेर रगत देउतालाई चढाउने चलन छ । पूजापाठपछि सुँगुरको मुटुपनि झिकेर लिङ्गोमाथि चढाइन्छ । गीतबाट वन गन्ने, पूजापाठ र बली दिने काम सकिएपछि बल्ल सिस्नो खोस्ने तयारी शुरु हुन्छ ।

बली दिइएको सुँगुरको साँप्रोलाई सिस्नोको मुठाभित्र बाँधिन्छ । एकाथरी ढ्याङ्ग्रो र झ्यालीको तालमा गीत गाउँदै अघि बढ्छन् । पछिपछि सुँगुरको साँप्रो राखिएको सिस्नोको मुठा बोकेका युवा जमात हुन्छन् । समूहमा ‘आयो, आयो।।’ भन्दै गीत गाउने गरिन्छ ।

बारीको पल्लो छेउ मौलिक वेशभूषामा सजिएर सिस्नो खोस्न तम्तयार युवतीहरु हुन्छन् । हातमा सिस्नो समातेका युवकहरु युवतीको छेउछाउ पुग्छन्, सिस्नोले हातमा छोइदिन्छन्, जिस्किन्छन् । केटा पक्षले सिस्नोमा बाँधेर ल्याएको सुँगुरको साँप्रो खोस्न होमिन्छन् युवतीहरु । अनि शुरु हुन्छ तानातान र खोसाखोस ।

यो दृश्य निकै नै अनौठो र रोमाञ्चक देखिन्छ । कोही घोडा र शिकारीको भेषमा नाचिरहेका हुन्छन्, कोही सारङ्गी बजाउँदै हिँड्छन् । ढ्याङ्ग्राको ताल झन्झन् जोडले बज्न थाल्छ । युवायुवतीबीच खोसाखोस र ठेलमठेल चलिरहेकै हुन्छ । अन्तिममा एक पक्षले जित्छ । जसले जितेपनि सँुगुरको साँप्रोको मासु प्रसादका रुपमा सबै मिलेर खान्छन् ।

युवतीले जिते युवकहरुले दण्ड तिर्नुपर्ने चलन छ । यसरी नै वर्षौँदेखि तारागाउँका मगर समुदायले भदोरै सिस्नो पर्व मनाउँदै आएका छन् । यसपालि पनि चार दिनसम्म चलेको पर्वलाई गाउँलेले मङ्गलबार बिदा गरे । “भदोरै हाम्रा शाखा, पुर्खा यहाँ आउँदा लिएर आएको पर्व हो,” गुरुबा रोकाले भन्नुभयो – “यो गाउँलेको पूजा हो । गाउँलाई राम्रो होस् भनेर गरेको हो ।”

हरेक दुई वर्षको फरकमा भदौ शुक्ल पक्ष (उजेली पक्ष) पारेर भदोरै पर्व मनाउने गरिन्छ । शनिबारदेखि शुरु हुने पर्वलाई मङ्गलबार अन्त्य गर्ने परम्परा रहेको स्थानीयवासी रविन घर्तीले बताउनुभयो । पहिलो दिन गाउँका बूढापाकाले र दोस्रो दिन अविवाहित युवायुवती तथा बूढापाका मिलेर बाटो सरसफाइ गर्ने चलन छ ।

यस्तै, तेस्रो दिन सोमबार तारागाउँको सरसफाइ गरेपछि भिस्टल्ला भन्ने ठाउँमा मही चढाउने, बाँड्ने र खाने गरिन्छ । सोही ठाउँमा पहिले लेकबाट आएका गोठालाले ठेकीमा नौनी घिउको बिर्को लगाएर मही लिएर आउने गरेको स्थानीयवासी बताउँछन् । “सोमबार साँझदेखि पूजापाठ शुरु हुन्छ र मङ्गलबार बेलुका पर्व सकिन्छ,” घर्तीले भन्नुभयो ।

सोमबार राति ‘सितम सेउला’ र ‘बजा सल्ला’ राख्ने, वन गन्ने (गीत गाउने) काम हेम्थो (कुल) घरकै भित्र हुन्छ । राँगोको बली पनि कुल घरकै आँगनमा दिने गरिन्छ । स्थानीयवासी रिमबहादुर घर्तीको घरलाई गाउँलेले कुल घर मान्दै आएका छन् । घर्तीका बुबा मुखिया भएकाले सोही घरलाई पछि कुल घरका रुपमा लिइएको हो ।

पर्वको अन्तिम दिन मङ्लबार भने पूजापाठ, बली, सिस्नो खोस्ने काम कुल घरकै पछाडिको बारीमा हुन्छ । अन्तिममा कुल घरकै आँगनमा सिस्नो खोसेपछि भदारै पर्वको अन्त्य हुन्छ । यसपालि भदोरै पर्वलाई व्यवस्थित रुपमा सञ्चालन गरिएको मगर समाजका अध्यक्ष झकबहादुर घर्तीले बताउनुभयो ।

“भदोरै सिस्नो खोस्ने पर्व हाम्रो ऐतिहासिक पर्व हो, यसको जगेर्ना हुनुपर्छ भनेर हामी लागिपरेका छौँ,” उहाँले भन्नुभयो । पर्वको आयोजना र व्यवस्थापन मगर समाज तारागाउँले गरेको थियो । छिमेकी गाउँहरुबाटसमेत पर्व अवलोकन गर्न आउने मानिसहरुको घुइँचो लागेको थियो ।

ताराखोला गाउँपालिका–४ र ५ को साझा पर्वका रुपमा भदोरै सिस्नो खोस्ने पर्वलाई लिइएपछि अहिले सिङ्गै गाउँपालिका र जिल्लाकै पहिचानसँग जोडिएको छ । कुलपितृको उद्धार, गाउँलेको भलो होस्, सुख, ऐश्वर्य मिलोस्, रोगव्याधि नलागोस्, अन्नबाली सप्रियोस् भन्ने कामना गर्दै भदोरै पर्व मनाउने गरिन्छ ।

झण्डै ३०० वर्षअघि डोल्पाको ताराभोटबाट आएका मगर समुदायका पूर्वजले पर्वको प्रचलन बसालेका थिए । गाउँलेले पर्वलाई पुर्खाको नासोको रुपमा लिन्छन् । पर्व जोगाउन बूढापाकादेखि युवा पुस्ताको सक्रियता र सहभागिता रहँदै आएको छ । पहिलोपटक सिस्नो खोस्ने खेलमा सहभागी भिमा घर्तीले मौलिक संस्कृति र परम्पराको संरक्षणमा युवा पुस्ता अग्रसर हुनुपर्ने बताउनुभयो ।

सिस्नो खोस्ने पर्वले युवायुवतीबीच भेटघाट हुने, आत्मीयता बढाउने अवसरका रुपमा पनि लिइन्छ । सिस्नो खोस्दा युवायुवतीले आँटेको पुग्ने, वैवाहिक जीवन सफल हुने र परिपक्वता पनि झल्कने विश्वास गरिन्छ । ताराखोला गाउँपालिका–३ हिल र २ अर्गलमा पनि भदौरे जात्रा तथा कुल पूजाका अवसरमा सिस्नो खोस्ने पर्व मनाइन्छ ।

सिस्नो खोस्ने, भुस पोल्नलगायतका मेला र पर्व ताराखोला गाउँपालिकाका ऐतिहासिक संस्कृति हुन् । मौलिक संस्कृति र परम्परा संरक्षणका लागि गाउँपालिकाले सघाउने अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । “मौलिक संस्कृति, पर्व र मेला ताराखोलाका पहिचान हुन्,” उहाँले भन्नुभयो – “स्थानीयवासीसँग मिलेर संरक्षणको काम अघि बढाउँछौँ ।”

गाउँपालिकाले ‘बहुसाँस्कृतिक सङ्ग्रहालय’ निर्माणको योजना पनि अघि सारेको छ । कला, संस्कृति, रहनसहन, मनोरम भूगोल, स्थानीय उत्पादनलगायतले चिनिएको गाउँपालिकाले विसं २०७७ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । ताराखोला मगर बाहुल्य गाउँ हो ।