मनाङ। हिमाली क्षेत्रको नार्पाभूमि गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को महालेखापरीक्षकको लेखापरीक्षणमा आफ्नो बेरुजु रकम पूर्ण रूपमा शून्य (०) कायम गर्न सफल भएको छ। दैनिक आर्थिक कारोबारमा कडा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्दै गाउँपालिकाले बेरुजुमुक्त हुने ऐतिहासिक सफलता हासिल गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल लम्सालले कार्यालयमा हाजिर भएकै दिनदेखि आफ्नो कार्यकालभरि कार्यालयको बेरुजु शून्य बनाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धता अनुसार दैनिक आर्थिक कारोबारमा कडा नियमसंगत प्रक्रिया र पारदर्शिता पालना गराइएपछि यो नतिजा सम्भव भएको हो।
विगतका बेरुजु पनि शतप्रतिशत फर्छ्यौट
लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियतहरूमाथि समयमै नियमसंगत कारबाही प्रक्रिया अगाडि बढाइएको थियो। जसका कारण आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखापरीक्षण बेरुजु शून्य हुनुका साथै विगतका आर्थिक वर्षहरू २०७८/७९, २०७९/८० र २०८०/८१ का असुल उपर गर्नुपर्ने सम्पूर्ण पुराना बेरुजुहरू समेत असुल गरी पूर्ण रूपमा शून्य बनाइएको छ।
बेरुजुरूपी रोगको स्थायी उपचार
वित्तीय अनुशासन र सुशासन कायम गर्नका लागि बेरुजु फर्छ्यौट प्रक्रियामा निर्मम रूपमा लागिपरेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो। स्थानीय तहमा आर्थिक अनुशासन कायम राख्नका लागि बेरुजुको अस्थायी होइन, स्थायी उपचार गर्न आफूहरू तयार भएको उहाँको भनाइ छ।
आफूले सुरुआतमा गरेको प्रतिबद्धता पूरा गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै लम्सालले आगामी दिनमा पनि यस्तै निष्ठा र दृढताका साथ कार्य सम्पादन गर्न सके देशैभरिका स्थानीय निकाय तथा वित्तीय क्षेत्रमा अनुशासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
आ.व. २०८०/८१ को बेरुजु शून्य: महालेखापरीक्षकको लेखापरीक्षणमा बेरुजु रकम शतप्रतिशत शून्य कायम।पहिलो दिनकै प्रतिबद्धता पूरा: प्रमुख प्रशासकीय अधिकृत सुशिल लम्सालले कार्यभार सम्हालेकै दिन व्यक्त गरेको प्रतिबद्धता कार्यान्वयन।
विगत ३ वर्षको बेरुजु फर्छ्यौट: आ.व. २०७८/७९, २०७९/८० र २०८०/८१ को असुल उपर गर्नुपर्ने सम्पूर्ण बेरुजु फर्छ्यौट भई शून्य।
वित्तीय अनुशासन र सुशासन: दैनिक कार्यसम्पादनमा कडा अनुशासन लागू गरी अन्य स्थानीय तहका लागि अनुकरणीय सन्देश।











