१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याइयो



अ+ अ-

चितवन। भरतपुर महानगरपालिकाको रोजगार तथा उद्यमशीलता विभागले गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका १३ जनाको शव नेपाल ल्याएको छ ।

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएकाहरुको निधनपछि प्रक्रिया पूरा गरी शव नेपाल ल्याइएको हो । विभागका प्रमुख सन्देश वाग्लेका अनुसार भरतपुर महानगरपालिकाका बासिन्दा श्रम स्वीकृति लिएर गएकाहरुको विदेशमा निधनपछि निःशुल्क शव नेपाल ल्याइएको हो ।

उनीहरुको शव कुवेत, युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब र पोर्चुगलबाट नेपाल ल्याइएको हो । हृदयाघात भएर, आत्महत्या, दुर्घटनामा परेर लगायत कारणले उनीहरुको मृत्यु भएको थियो ।

प्रमुख वाग्लेका अनुसार विदेश जानुअघि महानगरपालिका वा नेपाल सरकारको कुनै आधिकारिक निकायबाट श्रम स्वीकृत गरेर गएकाहरुको शव महानगरले झिकाउने गर्दछ ।

श्रम स्वीकृतिका क्रममा निजहरुको स्वास्थ्य बिमा गर्ने गरिन्छ । वैदेशिक रोजगार बोर्डले निजहरुबाट कल्याणकारी कोषमा पनि रकम राख्ने गर्दछ ।

यसरी श्रम स्वीकृत गर्दा कल्याणकारी कोषका लागि प्रतिव्यक्ति रु एक हजार ५०० र म्यादी जीवन बिमाका लागि उमेरअनुसार रु दुई हजार ५०० देखि रु नौ हजारसम्म शुल्क लाग्ने गर्दछ । यो शुल्क दुई वर्षका लागि हुने गर्दछ ।

यसरी कोषमा रकम जम्मा गरेको र बिमा गरेकाको निधन भएमा उनीहरुको परिवारले वैदेशिक रोजगार बोर्डबाट प्रतिव्यक्ति रु १० लाख र बिमाबाट रु १४ लाख पाउने गर्दछन् ।

यसैगरी, आश्रित परिवारको अध्ययनका लागि छात्रवृत्तिका लागि कक्षा ८ सम्म वार्षिक रु १२ हजार र कक्षा ८ देखि १२ सम्मलाई वार्षिक रु १६ हजार उपलब्ध गराइने प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

श्रम स्वीकृत भएर विदेशमा रहेकाहरुको परिवारका सदस्य जटिल बिरामी परेमा पनि बिरामीको प्रकृति हेरेर उपचार खर्च बोर्डले दिने गरेको प्रमुख वाग्ले बताउनुहुन्छ । बिरामी भई कागजात पेस गरेका चार जनालाई यहाँबाट सिफारिस गरी उपचार खर्च दिलाइएको छ । हालसम्म रु चार लाखदेखि रु सात लाखसम्म उनीहरुले पाएको उहाँले जानकारी दिनुभयो । जटिल रोगका बिरामीले खर्चका आधारमा बोर्डले रकम उपलब्ध गराउँदै आएको छ ।

कार्यालयले श्रम स्वीकृत गरेर गएका र विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्ने गरेको छ । परिवारले आग्रह गरेर गत वर्ष भरतपुरका दुई जनाको उद्धार गरिएको थियो ।

प्रमुख वाग्लेका अनुसार एक जनाको झै–झगडामा परेर प्रहरीले नियन्त्रणमा लिएपछि उद्धार गरिएको हो भने अर्काे एक जना मादक पदार्थ बिक्री गरेको अभियोगमा पक्राउ परेकाको उद्धार गरिएको छ ।

गत वर्ष शव झिकाइएकाको परिवारले सोहीअनुसारको रकम पाएको उहाँले बताउनुभयो । कतिपयलाई महानगरपालिकामा श्रम स्वीकृतिका सबै काम हुन्छन् भन्ने जानकारी नहुँदा काठमाडौँ जाने गरेको भन्दै उहाँले यससम्बन्धी जानकारी सबैमा हुनु आवश्यक रहेको बताउनुभयो ।

जहाँबाट श्रम स्वीकृति गरेको भए पनि भरतपुर महानगरवासीलाई कुनै समस्या श्रममा जाँदा परेमा सहजीकरण गर्ने काम महानगरले गरिरहेको छ । भरतपुर महानगरपालिकाबाट २०८० सालदेखि श्रम स्वीकृतिलगायत काम हुँदै आएका छन् ।  (रासस)