१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव



अ+ अ-

दाङ। दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ । उक्त औषधिको अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोराही), लमही अस्पताल (गढवा) स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर) मा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टिस्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको भन्दै प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उहाँले बताउनुभयो ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले गढवास्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको बताउँदै राप्ती प्रादेशिक अस्पतालमा पनि मौज्दात न्यून रहेकाले समस्या हुनसक्ने उल्लेख गर्नुभयो । अस्पतालका अनुसार अहिले रहेको भेनमबाट बढीमा एक वा दुई जना बिरामीको मात्रै उपचार गर्न सकिन्छ ।

लुम्बिनी प्रदेश आपूर्ति केन्द्रमा माग पठाइए पनि पर्याप्त परिमाणमा भेनम प्राप्त हुन नसकेको अस्पतालले जनाएको छ । वर्षायामसँगै सर्पदंशका घटना बढ्न थालेका बेला एन्टिस्नेक भेनम अभाव भएपछि उपचारमा समस्या हुन सक्ने भन्दै अस्पतालहरूले तत्काल पर्याप्त परिणाममा उक्त औषधि उपलब्ध गराइदिन सम्बन्धित निकायसँग माग गरेका छन् ।

जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सर्पदंशका कारण सात जनाको मृत्यु भएको थियो भने ३९ जना उपचारपछि निको भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस