काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार भएको बताउनु भएको छ । तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसको अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा च्यासलमाआयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो -केही दिनयता सुनसरीलगायत पूर्वी तराईका केही जिल्लाहरूमा देखिएका सामुदायिक तनाव र हिंसात्मक घटनाहरूले हामी सबैको गम्भीर ध्यानाकर्षण भएको छ।
विविधताबीचको एकता, आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकताको आधार भएको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो -आजको यस संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई संयम अपनाउन, अफवाह, घृणा र विभाजनका प्रयासबाट टाढा रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव र कानुनी शासनलाई सुदृढ बनाउन आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछु।
उहाँले भन्नुभयो नेपालको कम्युनिष्ट आन्दोलन कठिन मोडमा पुगेका बेला पनितुल्सीलाल अमात्यले आन्दोलनलाई सही वैचारिक दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको स्मरण गर्नुभयो ।
उहाँले भन्नुभयो विभिन्न वामपन्थी शक्तिहरूबीच सहकार्य र एकता कायम गर्न तथा अध्ययन र वैचारिक बहसको संस्कृतिलाई सुदृढ बनाउन समेत उहाँले उल्लेखनीय योगदान पुर्याउनुभएको बताउनु भयो । कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व मन्त्री केशवप्रसाद बडाललाई सम्मान गर्नुभयो ।
उहाँले नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा माधवकुमार नेपालले पुर्याउनुभएको योगदान उल्लेखनीय रहेको बताउनु भयो । उहाँले भन्नुभयो -किसान आन्दोलन तथा कृषि, भूमिसुधार र सहकारीसम्बन्धी नीतिगत बहस र अभ्यासलाई अघि बढाउन केशवप्रसाद बडालले महत्त्वपूर्ण योगदान पुर्याउनुभएको छ ।











