काठमाडाैँ । नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री र मन्त्रीहरुलाई संसदप्रति उत्तरदायी र जवाफदेही हुन आग्रह गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले संसद चलिरहेको समयमा मुलुकमा उत्पन्न विषयहरुमा प्रधानमन्त्रीले संसदमार्फत नागरिकलाई सम्बोधन गर्न नचाहाँदा गम्भीर आशंका उत्पन्न भएको बताउनु भयो । उहाँले किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्रीले पारदर्शी र उत्तरदायी भएर काम किन कठिनाई भइरहेको छ भन्ने कुरा भन्न सक्नुपर्ने बताउनु भयो । उहाँले सरकारलाई मुलुक र जनताप्रति उत्तरदायी र जवाफदेही बनाउने कुरामा आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले संसदमा उठिरहेका प्रश्नहरुको जवाफ किन संसदमा आएर दिन सकिरहनुभएको छैन ? आफूले जनतालाई सम्बोधन गर्ने कुरा, संसद चलिरहेको समयमा संसदबाट दिन नचाहाँदा एउटा गम्भीर आशंका उत्पन्न हुन्छ । अहिले मार्केटमा त्यस्तै आशंका उत्पन्न भएको छ । यो सबैतिर चलिरहेको छ । किन प्रधानमन्त्रीजी पर्दाभित्रबाट देशको शासन चलाउन चाहानुहुन्छ ? उहाँलाई के गाह्रो भयो ? पर्दाबाहिर आएर खुला भए, पारदर्शी र उत्तरदायी भएर काम गर्न उहाँलाई के कठिनाई भएको छ ? उहाँले त्यो कुरा भन्न सक्नुपर्छ । हामी सहयोग गर्न तयार छौँ । तर पर्दाभित्रबाट शासन चलाउने कुरा लोकतन्त्र र लोकतान्त्रिक शासन पद्धती र संविधानको प्रबन्धभन्दा परतिर जान्छ । यसले मुलुकलाई अत्यन्तै दुर्घटनातर्फ धकेल्छ । त्यसैले मेरो आग्रह छ सरकारसँग, प्रधानमन्त्री र मन्त्रीजीहरु संसदप्रति पूर्ण उत्तरदायी हुनुस्, जनताका प्रश्नहरुको जवाफ दिनुहोस् । संसदमा उठेका प्रश्न त जनताका प्रश्न हुन् । कुनै गलत मनसायको प्रश्न उठेको छ भने पनि तपाईहरुले प्रष्ट पार्न सक्नुहुन्छ । सही प्रश्न उठेको छ भने त्यसलाई सुझावको रुपमा ग्रहण गर्न सक्नुहुन्छ ।’
सिटौलाले सरकार मुलुकमा अन्य दुई वटा सरकार छन् भन्ने कुराको समेत हेक्का राख्नुपर्ने बताउनु भयो । उहाँले मधेशमा उत्पन्न तनावको समस्या गर्न मधेस प्रदेश सरकारसँग संघ सरकारले आवश्यक समन्वय गर्न नसकेको बताउनु भयो ।











