काठमाडाैँ । प्रधानमन्त्री र मधेस केन्द्रित दलहरूबीच सुनसरीबाट शुरु भई मधेसका विभिन्न जिल्लामा फैलिएको पछिल्लो हिंसात्मक घटनाका विषयमा सिंहदरबारमा छलफल भएको छ ।
शुक्रवार भएको उक्त छलफलमा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले घटनाको शान्तिपूर्ण समाधान र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई ‘र्याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको माग गर्नुभएको हो । छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राउतले प्रधानमन्त्रीले मधेस केन्द्रित दलहरूलाई बोलाएर छलफल गर्नु सकारात्मक कदम भएको बताउनु भयो ।
उहाँले सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको समाधानका लागि संघीयता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको जानकारी दिनुभयो । अध्यक्ष राउतले यस्ता घटनाहरूलाई छिटपुट रूपमा मात्र नलिन आग्रह गर्दै प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्थायी ‘र्याट्स’ टिम गठन गर्न सुझाव दिनुभयो । उहाँले कुनैपनि अप्रिय घटना भए वार्ता र सम्झौतामार्फत तीन घण्टाभित्रै समस्या समाधान गरी शव व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
शवलाई लामो समयसम्म राख्दा समस्या थप विकराल बन्ने उहाँको तर्क छ । यसका साथै, हरेक जिल्लामा सबै धर्मका गुरु र धार्मिक अभियन्ताहरू सम्मिलित ‘अन्तरधार्मिक काउन्सिल’ गठन गरी मासिक रूपमा बैठक बस्नुपर्ने प्रश्ताव उहाँले राख्नुभएको छ । यस्तो संयन्त्रले समुदायमा सौहार्दपूर्ण वातावरण निर्माण गर्न र गलत क्रियाकलापलाई निरुत्साहित गर्न ’प्रिभेन्सन मेजर’ (रोकथामका उपाय) का रूपमा काम गर्ने राउतको विश्वास छ । सुरक्षा निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै डा. राउतले प्रहरीलाई धार्मिक संवेदनशीलताका विषयमा ‘रिट्रेनिङ’ (पुनर्तालिम) दिनुपर्ने माग गर्नुभयो ।
केही स्थानमा सुरक्षाकर्मीहरूको आक्रोशपूर्ण व्यवहारले हिंसा बढाएको भन्दै उहाँले सुरक्षा संयन्त्र वा सरकारी निकायको कतै न कतै कमजोरी वा संलग्नता हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो ।
अध्यक्ष राउतले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र प्रदेश प्रहरीको व्यवस्था गर्न ढिलाइ भएकाले पनि यस्ता समस्याहरू बल्झिएको बताउनु भयो । स्थानीय भाषा र सामाजिक अवस्था बुझ्ने प्रदेश प्रहरी भएको भए समस्या प्रधानमन्त्री कार्यालयसम्म आउनु नपर्ने उहाँको दाबी छ । उहाँले नेपाली सेनालाई थप समावेशी बनाउनुपर्नेमा जोड दिँदै स्थानीय भाषा बुझ्ने सुरक्षाकर्मी परिचालन गरेमा भीड नियन्त्रण सहज हुने उल्लेख गर्नुभयो । आफ्नो पार्टी सरकारलाई असफल बनाउने पक्षमा नरहेको स्पष्ट पार्दै अध्यक्ष राउतले सरकारलाई सचेत गराउन र देशमा शान्ति सुव्यवस्था कायम गर्न रचनात्मक भुमिका निर्वाह गरिरहेको बताउनु भयो











