९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भाव कायम गर्न उद्योग वाणिज्य महासंघको आह्वान, शान्तिका लागि सक्रिय हुन आग्रह



अ+ अ-

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटना र सर्वसाधारणमा उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सामाजिक सद्भाव कायम राख्न आफ्ना सबै प्रदेश महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

तराईका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई शान्त बनाउन महासंघले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। महासंघले आफ्ना मातहतका संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु तथा स्थानीय अगुवाहरूसँग समन्वय गरी भाइचारा, शान्ति र सुरक्षा कायम राख्न पहल गर्न आग्रह गरेको हो।

परिस्थिति अनुसार स्थानीय प्रशासनको अनुमतिमा सद्भाव र्‍याली आयोजना गरी शान्ति र सामाजिक एकताको वातावरण बनाउन पनि महासंघले प्रदेश तथा जिल्ला/नगर संघहरूलाई अनुरोध गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले कुनै पनि मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने बताउँदै महासंघसँग आबद्ध सबै सदस्य तथा संघहरूलाई आ–आफ्नो क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न अग्रसर हुन आग्रह गरेका छन्।

महासंघले पछिल्ला घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको उदाहरण रहेको उल्लेख गर्दै महासंघले कुनै पनि प्रकारको सामाजिक अशान्ति, झडप र हिंसाले सर्वसाधारणको जीवनसँगै उद्योग, व्यापार र समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ।

शान्ति र सामाजिक सद्भाव नै मुलुकको समृद्धि तथा आर्थिक विकासको आधार भएको भन्दै महासंघले सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।