१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै

प्रधानमन्त्रीले उद्घाटन गरेका विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणका क्रममा गुणस्तरहीन भेटिएका यी बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए ।

सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाईडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न निर्देशन दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भुक्तानीसमेत रोकी ती बस फिर्ता गरी टेन्डरमा तोकिएको स्पेसिफिकेसनअनुरूपका चीनमा निर्मित विद्युतीय बस ल्याउन निर्देशन दिँदै आएको छ ।

बीवाईडीले आफ्नै खर्चमा बसमा रहेका प्राविधिक कमीकमजोरी सुधार गरिदिने आश्वासन दिँदै तिनैलाई स्वीकार गर्न सरकारलाई दबाब दिँदै आएको छ । एसियाली विकास बैंक (एडीबी) को करिब २८ करोड रुपैयाँ अनुदान सहयोगमा मन्त्रालयले लुम्बिनी क्षेत्रमा वायु प्रदूषण घटाउन ५ विद्युतीय बस, ११ वटा विद्युतीय कार र चार्जिङ स्टेसन खरिद प्रक्रिया अघि बढाएको हो । त्यसमध्ये ५ वटा बस गत कात्तिकमै आइसकेका हुन् ।

कार पनि गत पुसमै बनिसकेको बीवाईडीको दाबी छ । ‘बीवाईडीले चीनमा सबै कार बनिसकेका छन्, निरीक्षण गर्न आऊ भनेर गत पुसदेखि ताकेता गरिरहेको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘हामीले भने कमसल बस फिर्ता गरेर गुणस्तरीय बस नल्याएसम्म आउन सक्दैनौं भनेर जवाफ दिइरहेका छौं ।’ मन्त्रालयले १ करोड ७४ लाख रुपैयाँ दरमा बस खरिद गरेको हो । कारका लागि भने करिब ३५ लाखको दर पर्नेछ । यसअनुसार बस र कारलाई १३ करोड रुपैयाँ खर्च हुन्छ ।

लुम्बिनी क्षेत्रमा चार्जिङ स्टेसन निर्माणको ठेक्का जापानी कम्पनी इसाखाले पाएको छ । लुम्बिनी क्षेत्रको आकर्षण बढाउन करिब १५ करोड रुपैयाँमा सोलार प्रणालीको चार्जिङ स्टेसन निर्माण भइरहेको छ । आपूर्तिकर्ता कम्पनीका पदाधिकारीले प्रधानमन्त्री र शक्ति केन्द्रहरूसम्म पुगेर ती बस स्विकार्न दबाब दिइरहेको मन्त्रालयका एक अधिकारीले बताए । दाता एडीबीले पनि प्राविधिक रूपमा भएका कमजोरी सुधार्न लगाएर तिनै बस स्विकार्न दबाब दिएको छ ।

‘आपूर्तिकर्ता कम्पनीले कमीकमजोरी सुधार्छ र प्राविधिक रूपमा ठीक हुन्छन् भने कुन देशमा निर्मित हुन् भन्ने कुराले केही फरक पर्दैन । बस स्वीकार गर भनिरहेको छ,’ स्रोतले भन्यो, ‘एडीबीको दबाबले पनि बस फर्काउन समस्या भइरहेको छ ।’ मन्त्रालयका अधिकारी भने राज्यलाई थप दायित्व नपर्ने गरी आपूर्तिकर्ता कम्पनीले बस फिर्ता गरेर ठेक्का सम्झौताअनुसार चिनियाँ बस ल्याउने सर्तबाहेक कुनै पनि निर्णय गर्न आफूहरू तयार नरहेको बताउँछन् ।

बीवाईडीका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने विद्युतीय बसमा कुनै प्राविधिक कमजोरी नरहेको र ठेक्का सम्झौताअनुसारै ल्याएकाले फर्काउने कुरै नआउने दाबी गरे । ‘बसमा कमजोरी नै छैन, हामीले किन फर्काउने ? ’ मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले भने कमजोरी देखिएपछि मात्र ती बस फर्काउन निर्देशन दिइएको जानकारी दिए ।

प्राविधिकले स्पेसिफिकेसन अनुसारका बस आए–नआएको अध्ययन गर्नुअघि हतारमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका थिए । लुम्बिनी क्षेत्रका लागि ल्याइएका ती बस परीक्षणका लागि काठमाडौंमा चलाउन प्रधानमन्त्री स्वयंले साझा यातायातलाई हस्तान्तरण गरेका थिए । संस्कृति मन्त्रालयले मेकानिकल इन्जिनियर दीपक देवकोटाको संयोजकत्वमा गठित प्राविधिक समितिले ‘स्पेसिफिकेसन’अनुसार भए–नभएको अध्ययन गरेको थियो । त्यसबाट बसका पार्टपुर्जा भारतमा बनेको पाइएको हो ।

यसबारे थप अध्ययनका क्रममा आपूर्तिकर्ता कम्पनीले ती बस भारतमा उत्पादन भएको वीरगन्ज भन्सारमा उल्लेख गरेको पाइएको थियो । प्राविधिक समितिले बसमा १७ वटा गम्भीर प्राविधिक कमजोरी औंल्याएको छ । उसले बस गुणस्तरहीन र सार्वजनिक यातायातका लागि चलाउन अयोग्य रहेको प्रतिवेदन दिएको छ । टेन्डर सम्झौतामा ‘सी–६’ बस ल्याउने उल्लेख छ तर आपूर्तिकर्ता कम्पनीले ‘के–६’ बस ल्याएको छ । यी बस परीक्षणका लागि मात्रै उत्पादन भएकाले सार्वजनिक यातायातमा सञ्चालन गर्न योग्य नरहेको समितिको निष्कर्ष छ ।

बसको तौलसमेत सम्झौताअनुसार छैन । सम्झौतामा ७ हजार ४ सय ६५ किलोग्रामको हुनुपर्नेमा त्योभन्दा कम तौलका छन् । बसमा आगो निभाउन राखिएका उपकरणसमेत गुणस्तरहीन छन् ।अध्ययन प्रतिवेदनमा उत्पादन मिति स्पष्ट नभएको, गाडीको बत्ती, सिट बेल्ट, स्विच बोर्ड र सिटहरूको फेब्रिकेसन कमजोर छ भने अपांगता भएका व्यक्तिलाई चढाउने लिफ्टसमेत कमजोर छ । ह्विलचियर लिफ्ट तत्काल मर्मत गर्नुपर्ने अवस्थामा छ ।

गाडीको फिनिसिङ राम्रो नभएको, सिट कभर परीक्षणकै क्रममै च्यातिएको तथा बसमा कमजोर खालका सिसा राखिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । बसको सस्पेन्सन (लचकता) समेत कमजोर छ, ढोकासमेत राम्रोसँग चल्दैनन् । गाडीको स्पिड मिटरले तथ्यगत रूपमा सही सूचना नदिएको समितिको निष्कर्ष छ । बीवाईडीले मन्त्रालयलाई उत्पादकको परीक्षण रिपोर्ट र बस मर्मतका लागि आवश्यक उपकरणसमेत दिएको छैन । बसको पांग्र्राका नट सबैजसो खिया लागेको अवस्थामा फेला परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । समाचार कान्तिपुर दैनिकबाट