१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू

तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै सम्सीका महिलाहरू
अ अ+ अ-

काठमाडौं । एक समय घरधन्दामा सीमित महोत्तरीको सम्सी गाउँपालिका–७ सम्सीका महिलाहरू आजभोलि करेलाको हरियालीसँगै आफ्नो जीवनको उज्यालो भविष्य कोर्दै छन् ।

सामूहिक प्रयास, निरन्तर मेहनत र व्यावसायिक सोचले सम्सीका महिलाहरुलाई आत्मनिर्भर मात्र बनाएको छैन, गाउँमै सम्मानित कृषक–उद्यमीका रूपमा समेत स्थापित गरेको छ ।

सम्सी गाउँपालिकाका विभिन्न वडामा महिलाहरूले समूह बनाएर व्यावसायिक रुपमा करेलाखेती सुरु गरेका छन् । केही वर्षअघिसम्म परम्परागत खेतीमा सीमित उहाँहरू अहिले आधुनिक प्रविधि अपनाएर करेलाको उत्पादन गर्दै स्थानीय बजारसँगै जनकपुर, जलेश्वर, गौशाला, बर्दिबास र छिमेकी जिल्लासम्म बिक्री गर्न थालेका छन् ।

बिहान सबेरै खेतमा पुगेर लहराको स्याहार, सिँचाइ, मल व्यवस्थापन र टिपाइमा व्यस्त देखिने महिलाहरूको अनुहारमा थकानभन्दा बढी आत्मविश्वास झल्किन्छ । सम्सी गाउँपालिका–७ निवासी शैलीदेवी यादवका अनुसार करेलाखेतीबाट हुने नियमित आम्दानीले परिवारको दैनिक खर्च धान्न, छोराछोरीको पढाइ खर्च जुटाउन र बचत गर्न समेत सहज भएको छ ।

“पहिला घरबाहिर काम गर्ने अवसर कम थियो, अहिले आफ्नै गाउँमा खेती गरेर आम्दानी गर्न सकेका छौँ”, शैलीदेवी भन्नुहुन्छ, “परिवारको निर्णयमा पनि हाम्रो भूमिका बढेको छ ।” अघिल्लो वर्ष दुई कट्टामा लगाएको करेलाखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष चार कट्ठा लगाएको उहाँको भनाई छ । ‘‘सुरुमा केही काम नगरी घरमा त्यतिकै समय बिताउँदै थिए”, सम्सी गाउँपालिका ७ कै रिमाकुमारी बैठा भन्नुहुन्छ‘‘ तर अहिले समुह मार्फत करेला खेतीबारे जानकारी पाएपछि व्यवसायिक रुपमा करेला खेती गर्दै आएकी छु”, धानको सिजनमा धान बाली लगाउँछु र बाँकी जग्गामा करेलाखेती लगाएर आम्दानी गर्दै आएको उहाँ बताउनुहुन्छ ।

उर्वर भूमि, सिँचाइको सुविधा र बजारसँगको सहज पहुँचका कारण सम्सीमा करेलाखेती विस्तार हुँदै गएको कृषि प्राविधिक महेश यादव बताउनुहुन्छ । उचित समयमा बीउ रोप्ने, बाँस र तारको सहायताले लहरा व्यवस्थापन गर्ने तथा जैविक मलको प्रयोग बढाउँदा उत्पादन र गुणस्तर दुवैमा सुधार आएको उहाँका भनाइ छ । महिलाहरूले उत्पादन गरेको करेला स्थानीय व्यापारीले खेतबाटै खरिद गर्ने गरेका छन् । बजार मूल्य अनुकूल हुँदा एक सिजनमै उल्लेख्य आम्दानी हुने भएकाले अन्य महिलाहरू पनि यसतर्फ आकर्षित हुन थालेका छन् ।

केहीले करेलासँगै काँक्रो, लौका, घिरौँला र अन्य मौसमी तरकारीको समेत मिश्रित खेती गर्दै जोखिम घटाउने प्रयास गरिरहेका छन् । करेला खेतीले आर्थिक लाभ मात्र दिएको छैन, महिलाहरूमा नेतृत्व क्षमता र आत्मविश्वास पनि बढाएको छ । सम्सी गाउँपालिका–७ वीभाकुमारी यादवको नेतृत्वमा गठन भएको ‘देवकी करेला बाली उत्पादक कृषक समूह’ अहिले महिलालाई आर्धिक उपार्जन तथा आत्मनिर्भर बन्ने केन्द्र बनेको छ ।

समूहमा आबद्ध २५ जना महिलाले घरायसी कामपछि बाँकी समयलाई करेलाखेतीमा लगाउन थालेका छन् । समूहमा आबद्ध भएर महिलाहरूले बचत गर्ने, अनुभव आदानप्रदान गर्ने, नयाँ प्रविधि सिक्ने र बजार खोज्ने काम सामूहिक रूपमा गर्दै आएका छन् ।

यसले सामाजिक रूपमा पनि महिलाको भूमिका थप सशक्त बन्दै गएको स्थानीय अगुवा सुरेश ठाकुर बताउनुहुन्छ । सरकारी तथा विकास साझेदार संस्थाले पनि व्यावसायिक तरकारीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई तालिम, प्राविधिक सहयोग, सिँचाइ पूर्वाधार र कृषि सामग्रीमा अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

परियोजनाअन्तर्गत दुई जिल्लाका चार पालिकामा ५५३ वटा समूह सक्रिय रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) आयोजना कलष्टर एकाइ धनुषाले जनाएको छ । एकाइका कार्यालय प्रमुख रविलाल शर्माका अनुसार सक्रिय रहेका ४०० समूहलाई साना अनुदान, पूरक अनुदान, प्रवर्द्धन कार्यक्रम अनुदान र घरबारी पोषण बगैँचा योजनामार्फत समूहको कामको मूल्याङ्कन गरी अनुदान सिधै किसानहरुको खातामा पठाउँदै आएको छ ।

सीमान्तकृत, साना किसान, गर्भवतीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रमुख शर्माको कथन छ । तरकारीखेतीमा महिलाको सक्रिय सहभागिताले ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाइरहेको कृषिविज्ञ तथा परियोजनाका कृषि अधिकृत शिवचन्द्र झा बताउनुहुन्छ । उत्पादनसँगै प्रशोधन, प्याकेजिङ र बजारीकरणमा ध्यान दिनसके करेलाखेती अझ बढी आम्दानीको स्रोत बन्न सक्ने उहाँको सुझाव छ ।

बीउ, मल, विषादीको मूल्यवृद्धि, बजार मूल्यमा हुने उतारचढाव, बालीमा लाग्ने रोग–कीरा तथा पर्याप्त शीतभण्डारणको अभावलाई मुख्य चुनौतीका रूपमा रहेको महिला किसानहरु बताउँछन् ।रासस