२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच हजार खसीबोका काठमाडौँ पठाइँदै



अ+ अ-

बाँके । बडादशैँ नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैँको मुखमा बजारमा खसीबोकाको कृत्रिम अभाव देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौँ र अन्य शहरमा पठाउने भएका हुन् ।

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाले व्यावसायिक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायिकरुपमा काठमाडौँ तथा अन्य शहर पठाउन थालिएको हो । दशैँ र तिहारलाई लक्षित गरी विभिन्न सहकारीमा आबद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौँ लगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष गङ्गा चन्द ठकुरीले जानकारी दिनुभयो ।

केही व्यवसायीले बजारमा कृत्रिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भन्नुभयो, “अहिले बजारमा खसीबोका छैनन् भनेर कृत्रिम अभाव देखाउने र चर्को मूल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यापारी हुनुहुन्छ । अहिले पनि हामीसँग ५०० भन्दा बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन् । हामी पाँच हजार खसीबोका बिक्री गर्दैछौँ ।”

उहाँले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध बाँकेका १५ र बर्दियाका चार वटा सहकारीका सात हजारभन्दा बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौँ र एक हजार नेपालगञ्ज, बुटवल, तुलसीपुरलगायतका शहरमा पठाउन लागिएको जानकारी दिनुभयो । उहाँले राज्यले व्यवसायमुखी वातावरण बनाउन सके बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौँमा खसीबोका अभाव हुन नदिने दाबी गर्नुभयो ।

उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरीद गरेर सहकारी जिल्ला सङ्घमार्फत काठमाडौँ लगायतका शहरमा पठाउने गरेका छन् । उहाँले पछिल्लो समयमा भारतबाट अवैधरुपमा भित्रिने खसीबोकाका कारण आफूहरुले गरेको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुःख दिने गरेको गुनासो गर्नुभयो ।

उहाँले जिउँदो खसी प्रतिकिलो रु ४५० देखि ५१५ का दरले खरीद गर्दै आएको र रु ५०० देखि ५५० सम्ममा बिक्री गर्ने गरेको बताउनुभयो । दशैँलाई लक्षित गरी किसानको घरघरबाट सङ्कलन गरिएका ५०० भन्दा बढी खसीबोका सङ्घको बिक्री केन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेले जनाएको छ । सङ्घका अनुसार घटस्थापनासम्म दुई हजारभन्दा बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछ ।

सामाजिक उद्यमी महिला सहकारी जिल्ला सङ्घ बाँकेकी अध्यक्ष ठकुरीले सरकारले गत फागुन ३ गतेदेखि नेपालमा भारतीय खसीबोकाको आयातमा कडाइ गरेपछि नेपाली कृषकलाई राहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले भारतीय खसीबोका ल्याउन बन्देज लगाउँदा पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ । यसका लागि सरकारले अब कृषकका लागि प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्छ ।”

पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसीबोका भित्रिन दिने सरकारी नीतिले पशुपालक कृषकलाई थप हौसला मिलेको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसीबोका नेपाल भित्रिएका छैनन् । भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याए खसीबोका भन्सार पास हुँदैनन् । सरकारको यस कदमले आफूले पालेका खसीबोकाले बजार पाउँछन् भन्नेमा नेपाली कृषक ढुक्क बनेका छन् ।