१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

मनसुन अझै सक्रिय रहने, मनसुनबारे के भन्छन् मौषमविद ?

मनसुन अझै सक्रिय रहने, मनसुनबारे के भन्छन् मौषमविद ?
अ अ+ अ-

काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन यो दिनबाट बाहिरिन्छ भनेर किटानी गर्न नसकिए पनि अहिले नै बाहिरिने सङ्केत भने देखिँदैन । मनसुन अन्त्य हुनाका लागि मनसुनको न्यून चापीय रेखा बिस्तारै हट्दै जानुपर्छ र दक्षिण पूर्वी हावाको सट्टा पश्चिमी हावा बहन शुरु हुनुपर्छ ।

अहिले पनि मनसुन सक्रिय रही सामान्य वर्षा भइरहेकाले मनसुन अझै हप्ता/दस दिनसम्म कायम रहने सङ्केत देखिएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मनसुन सधैँ एकै समय सकिन्छ भन्ने हुँदैन मनसुन औसतमा सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । कहिले त्योभन्दा अगाडि र पछाडि हुन्छ ।” पछिल्लो केही वर्षको तथ्याङ्क हेर्दा नेपालमा सेम्टेम्बरमा मनसुन नसकिएर अक्टोबरसम्म पुग्ने गरेको छ । यस वर्ष पनि सेप्टेम्बरमा नसकिएर अक्टोबरसम्म पुग्ने सङ्केत देखिन्छ ।

विगत १८ वर्ष अवधिको मौसमी तथ्याङ्क हेर्दा नेपालमा पाँच वर्ष मात्र जुन १० अघि मनसुन प्रवेश गरेको छ भने अरू वर्ष ढिला नै प्रवेश भएको छ । मनसुन कायम रहने मिति पनि पछाडि धकेलिँदै गएको छ । मौसमविद्हरुले यसलाई पनि जलवायु परिवर्तनको असर हो भनेका छन् ।

मनसुन प्रवेश गर्ने र कायम रहने मितिमा आएको परिवर्तनले खासगरी कृषिमा असर पारेको छ भने मानिसको जीवनशैलीलाई पनि प्रभावित तुल्याएको छ । वरिष्ठ मौसमविद् कँडेल भने यसमा जलवायु परिवर्तनको प्रभावबारे निक्र्योल गर्न वैज्ञानिक अध्ययन नै गर्नुपर्ने सुझाउनु हुन्छ ।

मौसमी तथ्याङ्क हेर्दा सन् २००२ बाहेक सबै वर्ष मनसुन औसतभन्दा ढिलासम्म सक्रिय रहेको छ । सन् २०१३ मा त नेपालमा अक्टोबर १९ सम्म मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेल बताउनुहुन्छ । नेपालमा मुख्यगरी मनसुन बङ्गालको खाडीबाट प्रवेश गर्छ । केही मात्रामा अरेबियन सागरबाट समेत प्रवेश गर्ने गरेको छ । नेपालमा हिउँदमा वर्षा गराउने पश्चिमी वायु भने भूमध्य सागरबाट प्रवेश गर्ने गरेको विभागका वरिष्ठ मौसमविद् कँडेल बताउनुहुन्छ ।

उहाँका अनुसार नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महीनामा मनसुनको समयमा कूल वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । यसैगरी प्रि मनसुनको समय (मार्चदेखि मेसम्म) मा करीब १२, मनसुनपछि (अक्टोबर र नोभेम्बर) चार र हिउँद् (डिसेम्बरदेखि फेब्रुअरी) तीन दशमलव पाँच प्रतिशत वर्षा हुने गरेको छ ।

हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तरतर्फ सरेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यून चापीय प्रणाली रहेको छ । अर्को न्यून चापीय प्रणाली भारतको उत्तर प्रदेशमा रहेको छ । हाल नेपालमा अरब सागर र बङ्गालको खाडीबाट आइरहेको जलवाष्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको महाशाखाले जनाएको छ । आगामी मङ्गलबारसम्म देशभरका मौसम सामान्य बदली रहने र पूर्व र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।