काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास तथा व्यवसाय विस्तारका लागि आवश्यक सबै प्रकारको सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले महिला उद्यमीहरूका व्यवसायमा रहेका व्यवधान हटाउन सरकार सक्रिय रहेको बताउँदै उनीहरूले उत्पादन गरेका वस्तुहरू पर्यटकीय गन्तव्यहरूमा प्रवर्द्धन गर्ने वातावरण सिर्जना गरिने जानकारी दिनुभयो।
छलफलमा महिला उद्यमी महासंघका प्रतिनिधिहरूले व्यवसायमैत्री वातावरण निर्माण, महिला उद्यमीका वस्तु तथा सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, व्यापार मेला, प्रदर्शनी, बिजनेस–टु–बिजनेस (बी–टु–बी) कार्यक्रम तथा निर्यात प्रवर्द्धनमा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग माग गरेका थिए।
महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सरकारको सहयोग माग गरिएकोमा प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई तत्काल बजारमा ल्याउन आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, महासंघको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य गर्न, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा महिला उद्यमीलाई प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवा खरिद गर्ने व्यवस्था लागू गर्न महासंघले आग्रह गरेको छ।
प्रतिनिधिहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्योगीसम्म नपुगेको गुनासो गर्दै सहुलियत गाउँ–गाउँसम्म विस्तार गर्न, पुँजी अभाव भएका उद्यमीका लागि धितोको वैकल्पिक व्यवस्था गर्न र वित्तीय पहुँच सहज बनाउन सरकारसँग माग गरेका छन्।
महिला उद्यमीहरूको छाता संगठनका रूपमा रहेको महासंघलाई नीति निर्माण तथा सरकारी संयन्त्रमा प्रतिनिधित्व गराउनुपर्ने मागसमेत गरिएको छ। साथै, स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि महासंघले दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
महासंघका प्रतिनिधिहरूले आफ्ना समस्या गम्भीरतापूर्वक सुनेर समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको भन्दै प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेका छन्।











