२८ असार २०८३, आईतवार
,
Latest
राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव त्रिभुवन विमानस्थलबाट दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा शिक्षामा लगाएको तीन प्रतिशत समता कर खारेजी गर्न चार निजी शैक्षिक संस्थाको माग मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड निजी विद्यालयको माग : ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गरियोस् गणेश नेपाली प्रकरण: शव अझै टिचिङ अस्पतालमै, सहमतिको खोजीमा फेरि वार्ता हुने अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण पूर्वस्वीकृतिबिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुइको मृत्यु, चार घाइते



अ+ अ-

काठमाडाैँ । क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार घटनामा सङ्लग्न आशङ्कित आक्रमणकारी अझै फरार छन् । टोरन्टो प्रहरीले घटनास्थलमा गोली लागेको अवस्थामा छ जना भेटिएको जनाएको छ ।

तीमध्ये दुई जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन । प्रहरीले घटनास्थल वरपरको क्षेत्र घेराबन्दी गरी व्यापक अनुसन्धान अघि बढाएको जनाएको छ । अनुसन्धानका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारका अनुसार गोलीकाण्ड सेन्ट क्लेर एभिन्यूमा सञ्चालन भइरहेको साल्सा महोत्सवका क्रममा भएको हो ।

ओन्टारियोका प्रिमियर डग फोर्डले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई ‘अर्थहीन हिंसा’को सङ्ज्ञा दिनुभएको छ । उहाँले घटनामा दुई जनाको ज्यान गएको र अन्य व्यक्ति घाइते भएको उल्लेख गर्नुभयो । यो घटना गत महिनाको अन्त्यतिर मन्ट्रियलमा भएको गोलीकाण्डको केही समयपछि भएको हो ।

उक्त घटनामा एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीको कारबाहीमा आक्रमणकारी मारिएका थिए । यसअघि फेब्रुअरीमा क्यानडाको पश्चिमी खानी सहर टम्बलर रिजस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा आठ जनाको मृत्यु भएको थियो । उक्त घटनामा आक्रमणकारीले आफ्नी आमा र सौतेनी भाइको हत्या गरेकी थिइन् भने २७ जना घाइते भएका थिए । त्यसपछि उनले आत्महत्या गरेकी थिइन् ।