काठमाडौँ। नेपालमा उपलब्ध गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा दुई दिने शैक्षिक मेला शुरु भएको छ ।
विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस मेलाले नेपाली शैक्षिक संस्थाहरूले पनि अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ ।
मेलाका आयोजक एवं भिजन मिडिया इन्कर्पोरेशन एजुकेसन डटकमका प्रवन्ध निर्देशक तारामान रावलकाअनुसार नेपाली शिक्षा क्षेत्रबारे समाजमा रहेका नकारात्मक धारणालाई चिर्न र स्वदेशी विश्वविद्यालयहरूको क्षमता प्रदर्शन गर्न यो कार्यक्रम महत्वपूर्ण माध्यम बनेको छ ।
हाल नेपालमा त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका अतिरिक्त विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूले विश्वबजारमा प्रतिष्पर्धा गर्न सक्ने उच्चस्तरीय कोर्षहरू सञ्चालन गरिरहेका छन् ।
यस वर्षको मेलामा ५० भन्दा बढी सरकारी तथा निजी शिक्षण संस्थाहरूको सहभागिता रहेको छ । जसमा काठमाडौं विश्वविद्यालयको कुसुमो, शंकरदेव क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, एनइसी इन्जिनियरिङ क्याम्पस र पर्यटन क्षेत्रको लागि न्याथम लगायतका प्रतिष्ठित कलेजहरु रहेको रावलले बताउनु भयो । मेलामा विद्यार्थीले बायोमेडिकल इन्जिनियरिङ, इथिकल ह्याकिङ, एभिएसन, व्यवस्थापन, सूचना प्रविधि र मानविकी लगायतका २५ भन्दा बढी विधाका कोर्षहरूको बारेमा विस्तृत जानकारी लिन सक्नेछन् । उहाँले शिक्षालाई केवल आर्थिक उपार्जनको माध्यमका रूपमा मात्र नहेरी यसलाई ‘जीवनभरको लगानी’ का रूपमा बुझ्न विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा सम्भव छ भन्ने सन्देशसहित शैक्षिक मेला आयोजना गरिएको छ । विगत ११ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यो मेलाको उद्देश्य विद्यार्थी र अभिभावकलाई नेपालमै उपलब्ध गुणस्तरीय तथा बजारमुखी शिक्षाबारे जानकारी गराउनु हो । हाल नेपालका विभिन्न विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका कार्यक्रममार्फत व्यवस्थापन, इन्जिनियरिङ, सूचना प्रविधि (आईटी), बायोमेडिकल, एभिएसन, हस्पिटालिटी, ह्युम्यानिटिज, एथिकल ह्याकिङलगायत २५ भन्दा बढी विषयका अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रम सञ्चालन भइरहेका छन् । मेलामा सरकारी तथा निजी गरी ५० भन्दा बढी कलेज सहभागी छन् । आयोजककाअनुसार अध्ययन विदेशमा मात्र राम्रो हुन्छ भन्ने धारणा परिवर्तन गर्दै विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्न प्रेरित गर्नु मेलाको मुख्य उद्देश्य हो । अध्ययनलाई केवल कमाइको माध्यम नभई सीप, दक्षता र दीर्घकालीन करियर निर्माणको आधारका रूपमा लिनुपर्नेमा जोड दिइएको छ । मेलामा सहभागी विद्यार्थीले विभिन्न कलेजबाट १५ हजारदेखि २५ हजार रुपैयाँसम्म शुल्क छुटको सुविधा पाउनेछन् । साथै, कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि उपहार तथा प्रत्येक आगन्तुकलाई चलचित्रको टिकट पनि उपलब्ध गराइनेछ । दुई दिनसम्म सञ्चालन हुने यस मेलामा सहभागी भई नेपालमै उपलब्ध गुणस्तरीय शैक्षिक अवसर, छात्रवृत्ति, पाठ्यक्रम तथा करियरसम्बन्धी आवश्यक जानकारी लिन आयोजकले विद्यार्थी र अभिभावकलाई आग्रह छ ।’
पछिल्लो समय विद्यार्थीमा अध्ययन भन्दा पनि वैदेशिक रोजगारीलाई प्राथमिकता दिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले नेपालमै बसेर गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँका उत्पादित जनशक्तिको पारिश्रमिक तथा बजार माग समेत उच्च रहेको जानकारी दिनुभयो । मेलामा सहभागी हुने विद्यार्थीका लागि विशेष सहुलियतको समेत व्यवस्था गरिएको छ । मेलामार्फत भर्ना प्रक्रियामा जाने विद्यार्थीले सम्बन्धित कलेजको शुल्कमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, कक्षा १२ मा अध्ययनरत र परीक्षा दिएर बसेका विद्यार्थीका लागि प्रोत्साहनस्वरूप मुभी टिकट र विभिन्न उपहारहरूको समेत व्यवस्था गरिएको पनि उहाँले बताउनु भयो । दुई दिनसम्म चल्ने यस मेलाले विद्यार्थी, अभिभावक र विश्वविद्यालयहरूबीच एउटा मजबुत पुलको काम गर्ने र स्वदेशी शिक्षाको गरिमा बढाउन टेवा पु¥याउने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल











