२६ असार २०८३, शुक्रबार
,
Latest
५० प्रतिशत अनुदानमा मुर्रा क्रस भैँसी वितरण अनिवार्य शिक्षाको अभियानमा शुक्लाफाँटा गोलभेँडाले मूल्य नपाउँदा कृषकहरु चिन्तित लुम्बिनी विश्वविद्यालयको बजेट तथा नीति–कार्यक्रम स्वीकृत पशुपतिमा साउने सोमबारको तयारी सुरु नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त भेरी करिडोर : अस्थायी संरचनामार्फत सवारी सञ्चालन काँग्रेसद्धारा प्रतिनिधि सभा नियमावली विरुद्ध रिट दर्ता सर्लाहीमा आत्मदाह प्रयास: विवेकलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो विद्यार्थीलाई सुन्ने प्रवृत्तिको विकासले मात्र कक्षाकोठामा रूपान्तरण सम्भवः डा. रघु मैनाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रस्तुत गर्नुभएको ‘आर्थिक वर्ष २०८३÷८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’माथि छलफलका क्रममा उहाँहरूले यस्तो बताउनुभएको हो ।

छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले बजेट कार्यान्वयन, राजस्व परिचालन, वित्तीय आत्मनिर्भरता र विकास योजनाको प्रभावकारितामा जोड दिनुभएको थियो ।

विनियोजन विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य रामेश्वर चौधरी, तुलसी देवकोटा र दमन भण्डारीले भाग लिनुभएको थियो भने आर्थिक विधेयकमाथिको छलफलमा अक्कलबहादुर रावल, धर्मराज पाठक र मानबहादुर धामीले धारणा राख्नुभयो ।

प्रदेशसभा सदस्य चौधरीले राजस्व अनुमान यथार्थपरक हुनुपर्ने, आर्थिक विकास र कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्नेगरी योजना छनोट तथा बजेट विनियोजन हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । सङ्घीय सरकारले अनुदान घटाएको अवस्थामा प्रदेशले सामना गर्नुपर्ने चुनौतीबारे पनि पूर्वतयारी आवश्यक रहेको चौधरीको भनाइ थियो ।

प्रदेशसभा सदस्य देवकोटाले बजेटको मूल्याङ्कन रकमको आकारका आधारमा नभई नागरिकको जनजीविकामा पार्ने प्रभावका आधारमा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कृषि, रोजगारी, युवा तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको बजेटले समृद्ध सुदूरपश्चिम निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले प्रदेशको राजस्वको आधार कमजोर रहेको र राजस्व प्रशासन प्रभावकारी बन्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले केन्द्रमाथिको निर्भरता घटाउन आन्तरिक स्रोत परिचालनमा जोड दिँदै करको दायरा विस्तारसँगै प्रभावकारी कर सङ्कलन प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशमाथि विभिन्न प्रकारका आलोचना भइरहेकाले त्यसलाई चिर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले  प्रदेशको कुल बजेटमा आफ्नै स्रोतको योगदान करिब चार प्रतिशतमात्र रहेको उल्लेख गर्दै स्रोत पहिचान र आम्दानी विस्तारबारे वर्षौँदेखि छलफल भए पनि त्यसअनुसार प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

प्रदेशसभा सदस्य मानबहादुर धामीले बजेट र सम्बन्धित विधेयकहरूमाथिको छलफल औपचारिकतामा सीमित हुन नहुने बताउँदै त्यसलाई परिणाममुखी बनाउन आग्रह गर्नुभयो ।

उहाँले राजनीतिक नेतृत्वबाट कमजोरी भए पनि कानुन र प्रशासनमा अनुभवी राष्ट्रसेवक कर्मचारीले आवश्यक सुधारका लागि सक्रिय भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको धारणा राख्नुभयो । रासस