१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी महिलालाई लोकल कुखुरा र घ्यू वितरण



अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू वितरण गरेको छ । महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६/७७ बाट सुत्केरी महिलाका लागि उक्त सुविधा दिन शुरु गरेको वडा नं ६ का वडाध्यक्ष सन्तोष बोहराले बताए ।

उनले भने, “सुत्केरी महिला र बच्चाको स्वास्थ्य राम्रो होस भनेर हामीले कुखुरा र घ्यू दिन शुरु गरेका छौँ, हाम्रो अभियान राम्रै हुने आस गरेका छौँ ।” उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल जातको कुखुरा र एक किलोग्राम घ्यू वितरण गर्ने कार्यको शुरुआत गरेको छ । वडा कार्यालयले सुत्केरी आमालाई कुखुरा र घ्यू वितरण गर्न थालेपछि सो वडाका स्थानीयवासी निकै खुशी भएको सिलगढीका स्थानीयवासी डिलबहादुर सिंहले बताए ।

उनले भने, “वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्ने छ ।” चालू आर्थिक वर्षको साउनयता नौ सुत्केरी महिलालाई लोकल जातका कुखुरा र घ्यू प्रदान गरिएको सो वडाका वडासदस्य दीपा श्रेष्ठले जानकारी दिए । स्थानीयवासी सुनिता धामीले भने, “सुत्केरीलाई लोकल कुखुरा र घ्यू दिनु राम्रो हो, यो कार्य सबै वडाले गरे झन् राम्रो हुनेछ ।”

यसअघि दिपायल सिलगढी नगरपालिकाले नगरपालिकाभरिका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अण्डा वितरण गरेको थियो ।