१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनिष बने एक दिने राजा, लगाए श्रीपेच



अ+ अ-

गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल हुनुभएको हो । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित हुनुभएको हो ।

प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिनुभयो ।

प्रतियोगितामा दोस्रो हुनुभएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गर्नुभएको थियो । लमजुङका नेपाली सेनाका राम्जी बस्नेतले निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो हुनुभयो । चौथो हुनुभएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो । प्रथम थापामगरलाई नगद रु ६० हजार १०० सहित श्रीपेच पगरी, ट्रफी र मेडल प्रदान गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिनुभयो ।

दोस्रो हुनुभएका भाटलाई नगद रु ३५ हजार १००, तेस्रो हुनुभएका बस्नेतलाई नगद रु २५ हजार १०० सहित मेडल, ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको अध्यक्ष पूर्ण रानाले जानकारी दिनुभयोे । उहाँले प्रतियोगितामा १० औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिएको जानकारी दिनुभयो । नेपाली सेना रणसिंह दल गण गोरखा, पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिताको गरिएको हो ।

यस वर्ष प्रतियोगितामा लाग्ने सबै पुरस्कार रकम भने नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गण गोरखाका प्रमुख सेनानी उज्वल केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ देशभरका कोट तथा ऐतिहासिक स्थानको प्रचारप्रचारका लागि नेपाली सेनाले काम शुरु गरिसकेको छ, त्यसैको तयारी स्वरुप लिगलिगे दौड प्रतियोगितामा पनि हाम्रो सहभागिता हो ।”

नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता शुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको उहाँले बताउनुभयो ।

विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।