४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव

संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव
अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभाको गत जेठ १७ गतेको बैठकमा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ समितिले संसदमा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई आफ्नो विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव दिएको छ।

प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठित समितिले बिहीबार सभामुखलाई प्रतिवेदन बुझाउँदै बैठकमा अमर्यादित व्यवहार, नियमावली कार्यान्वयनमा कमजोरी, संयमताको अभाव तथा व्यवस्थापकीय चुनौती देखिएको उल्लेख गरेको हो।

समितिले संसदमा अमर्यादित र उत्तेजक अभिव्यक्ति प्रयोग भएमा प्रतिनिधि सभा नियमावलीको कडाइका साथ कार्यान्वयन गर्न, त्यस्ता अभिव्यक्तिलाई अभिलेखबाट हटाउनेदेखि सम्बन्धित सदस्यलाई बैठकबाट निष्कासन गर्नेसम्मका अधिकार सभामुखले प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिएको छ।

प्रतिवेदनमा सांसदहरूले आचारसंहिता र नियमावलीको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै सभामुख, सांसद तथा संघीय संसद सचिवालयले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख छ। साथै सांसदका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन, आचारसंहितासम्बन्धी सचेतना अभिवृद्धि, दलीय नेतृत्व र प्रमुख सचेतकको भूमिका प्रभावकारी बनाउने, सुरक्षा तथा प्रविधि व्यवस्थापन सुदृढ गर्ने, अन्तर्राष्ट्रिय असल अभ्यास अपनाउने, आचरण अनुगमन समितिलाई सक्रिय बनाउने र संसद सचिवालयको जनशक्ति तथा प्रविधि क्षमता बढाउनुपर्ने सुझाव पनि दिइएको छ।

घटनामा के भेटियो?

समितिले प्रहरी मुचुल्का, श्रव्यदृश्य सामग्री, प्रत्यक्षदर्शीको बयान तथा अन्य सम्बन्धित कागजातको अध्ययनपछि जेठ १७ गतेको बैठकमा विपक्षी सांसदहरूले पटक–पटक वेल घेराउ गरेको, नाराबाजी गरेको, मर्यादापालकसँग धकेलाधकेल भएको र केही सांसदले सभामुखको डायसतर्फ अघि बढ्ने प्रयास गरेको उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार केही सांसद टेबलमाथि चढेका, कुर्सीमा लात हानेका, वस्तु प्रहार गरेका, माइक स्ट्यान्ड फालेका तथा सभामुखको आसनतर्फ जान खोजेका थिए। विरोधका क्रममा सभामुखको सुरक्षाका लागि मर्यादापालकले सुरक्षा घेरा बनाउनुपरेको अवस्था सिर्जना भएको समितिको निष्कर्ष छ।

त्यसैगरी बैठक पुनः सञ्चालनका क्रममा विपक्षी सांसदहरूले सभामुख प्रवेश गर्ने दुवै ढोका छेकेर बसेका, सभामुखको टेबल धकेलिएको, केही भौतिक संरचनामा क्षति पुगेको तथा निरन्तर नाराबाजीका बीच नियमावली बहुमतबाट पारित भएको प्रतिवेदनमा उल्लेख छ।

भौतिक क्षति पनि

प्रहरी मुचुल्का तथा मर्यादापालकबाट प्राप्त विवरणअनुसार घटनाका क्रममा सभामुखको डायस अगाडिको टेबल चर्किएको, काठको बार भाँचिएको, माइक स्ट्यान्ड ढलेको, अडियो प्रणाली अस्तव्यस्त भएको, प्रवेशद्वारको छेस्किनी फुटेको तथा केही नेमप्लेटमा समेत क्षति पुगेको छ। मर्यादापालकका केही सदस्यलाई सामान्य चोट लागेको र केहीको टोपी हराएर भोलिपल्ट मात्रै फिर्ता भएको विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ।

कारबाहीका लागि नियमावलीमा स्पष्ट व्यवस्था

समितिले प्रतिनिधि सभा नियमावली, २०८३ अनुसार सभामुखसँग चेतावनी दिने, बैठकबाट निष्कासन गर्ने, बढीमा १५ दिनसम्म निलम्बन गर्ने, भौतिक क्षतिको क्षतिपूर्ति भराउने तथा आवश्यक परे विशेषाधिकार प्रयोग गरी तत्काल कारबाही गर्ने अधिकार रहेको स्मरण गराएको छ।

सात दिनको अध्ययनपछि प्रतिवेदन

गत जेठ १८ गते सभामुखको निर्देशनमा गठन भएको समितिमा प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी संयोजक तथा आन्तरिक स्रोत तथा योजना व्यवस्थापन महाशाखा प्रमुख बबिता मिश्र र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख गोपाल सिग्देल सदस्य थिए।

समितिले घटनास्थलको अध्ययन, श्रव्यदृश्य प्रमाण संकलन, प्रत्यक्षदर्शीका बयान तथा सम्बन्धित कागजातको विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो। समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समय दिइएको थियो भने प्रारम्भिक प्रतिवेदन यसअघि जेठ २५ गते सभामुखलाई बुझाइएको थियो।