१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत गराउने सञ्चारमन्त्री बाँस्कोटाको दाबी



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत गराउने दाबी गरेका छन् । सत्तारुढ नेकपाको बनेपा नगरद्वारा चाडपर्वको अवसरमा बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले सरकारले विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीलाई गरिबी चुनौती बनेको छ, सरकारले यससँगै गरिबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ,’ उनले भने । बाँस्कोटाले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरिबीलाई क्रमैसँग घटाउँदै लगिने पनि दाबी गरे ।

मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको भनाइ राखे । ‘हामी सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा छौँ,’ उनले भने । समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठ्यारोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उनले अहिले नेताको आफ्नो सफलता नभई जनताको आफ्नो पसिना, बुद्धि, विवेक र मूल्यको सफलता भएको उल्लेख गरे ।

वर्तमान विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिन नहुने उनको भनाइ थियो । उनले भने, ‘काग कराउँदै गर्छ।।।, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईंहरू ढुक्क हुनुहोस् ।’ सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनको वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उनले जिकिर गरे ।

नेकपा न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गरे । ‘व्यक्तिले गरेको गल्तीको भागिदार स्वयं व्यक्ति नै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील संगठित संस्था हो,’ उनले भने । आर्थिक रूपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति र समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनले बताए ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्दै उनी कुनै महाराजाको छोरा नभई स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको चर्चा गरे । उनले भने, ‘उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँ जनताका सपना साकार पार्ने अभियानमै हुनुहुन्छ ।’ नयाँ पत्रिका दैनिकबाट