११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने, असारभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी



अ+ अ-

काठमाडाैँ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि आगामी दुई वर्षभित्र काम सक्ने लक्ष्य राखिएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आयोजनाको वर्तमान अवस्था र भावी योजनाबारे ब्रिफिङ गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यकारी निर्देशक उपाध्यायकाअनुसार आगामी भदौसम्ममा हेडवक्सको स्थायी डिजाइन तयार हुनेछ । २०७८ असार १ गते मेलम्चीको मुहानभन्दा माथिल्लो क्षेत्रमा रहेको भेमाथाङमा गएको अस्वाभाविक बाढी र लेदोका कारण स्थायी हेडवक्र्समा ठूलो क्षति पुगेको थियो । उक्त विपद्पछि हाल वैकल्पिक डाइभर्सन टनेलबाट अस्थायी रूपमा पानी वितरण भइरहेको छ ।

हाल मनसुन शुरु भएकाले सुरुङभित्र लेदो पस्न नदिन र सुरुङको सुरक्षाका लागि असार १९ गतेदेखि पानी पठाउन बन्द गरिएको निर्देशक उपाध्यायले स्पष्ट पार्नुभयो । मौसम सफा हुनासाथ र खोलामा पानीको सतह घट्नासाथ पुनः पानी सञ्चालन गरिने उहाँको भनाइ छ । बैठकमा निर्देशक उपाध्यायले आयोजनाले भोगिरहेका कानूनी र प्रशासनिक झमेलाबारे पनि जानकारी गराउनु भयो ।

हाल मेलम्ची आयोजनासँग सम्बन्धित २८ वटा मुद्दा अदालतमा विचाराधीन छन्, जसमध्ये दुईवटा मुद्दा सिङ्गापुरस्थित अन्तर्राष्ट्रिय मध्यस्थता अदालतमा रहेका छन् । इटालियन ठेकेदार कम्पनी सिएमसीसँगको विवाद सुल्झाउन हालसम्म करिब ३२ करोड रुपैयाँ कानूनी प्रक्रियामै खर्च भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

यस्तै, आयोजनामा नेतृत्वको अस्थिरता पनि अर्को चुनौतीका रूपमा देखिएको छ । एक वर्षभित्रै चारजना कार्यकारी निर्देशक परिवर्तन भएको जानकारी दिँदै उहाँले यसले दीर्घकालीन निर्णय प्रक्रियामा असर पारेको बताउनु भयो । यद्यपि, वर्तमान मन्त्री र मन्त्रालयको सकारात्मक सहयोगका कारण काम गर्ने वातावरण सहज बन्दै गएको उहाँको अनुभव छ ।

उहाँले भन्नुभयो, ‘हामी अहिले डिजाइन पुनरावलोकनको चरणमा छौँ, जसका लागि क्यानेडियन कन्सल्टेन्ट र पुल्चोक क्याम्पसका विज्ञहरूको सहयोग लिइएको छ । चालु आर्थिक वर्षको असार मसान्तभित्रै ठेक्का सम्झौता गरी २०८६ असारसम्ममा हेडवक्र्सको निर्माण सम्पन्न गर्ने हाम्रो लक्ष्य छ । सरकारले भेन्डरहरूको भुक्तानीको जिम्मा लिएर काममा अवरोध नहुने वातावरण बनाउन पहल गरिरहेको छ ।’

ठेकेदार कम्पनी सिएमसीले छाडेर जाँदा स्थानीय आपूर्तिकर्ता (भेण्डर) हरूको भुक्तानी बाँकी रहेको विषयमा मन्त्रालयले गम्भीरतापूर्वक काम गरिरहेको उहाँले बताउनु भयो । मेलम्चीसँगै याङ्ग्री र लार्के खोलाबाट थप पानी ल्याउनका लागि पनि अध्ययन भइरहेको छ । कन्सल्टेन्टले दुई वर्षभित्र यसको विस्तृत प्रतिवेदन बुझाउने र त्यसपछि एडिबीसँगको ऋण सम्झौता प्रक्रिया अगाडि बढाइने आयोजनाले जनाएको छ ।