काठमाडाैँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का का.मु. कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले किसानको अनुभव र आधुनिक ज्ञानको समन्वयमा कृषि क्षेत्रको अनुसन्धान तथा प्रविधि विकास गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कृषि तथा अनुसन्धान परिषद्ले आयोजना गरेको नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरुको अभिमुखीकरण कार्यक्रममा उहाँले किसानको अनुभव र आधुनिक विज्ञानलाई एकीकृत गर्दै कृषि क्षेत्रमा नयाँ नवप्रवर्तन (इनोभेसन) विकास गर्नुपर्ने बताउनुभएको हो । स्थानीय किसानसँग सहकार्य गर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले किसानसँग वर्षौंदेखिको व्यावहारिक अनुभव रहेको बताउनु भयो ।
किसानले प्रयोग गर्दै आएका प्रविधि, सीप र अभ्यास स्थानीय हावापानी तथा माटोअनुकूल भएको उहाँको भनाई छ । उहाँले ती परम्परागत अभ्यासको वैज्ञानिक आधार र मर्म बुझ्दै अनुसन्धानकर्तासँग रहेको आधुनिक ज्ञान तथा प्रविधिको उपयोग गरी उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरुलाई किसान र माटोसँग बढी घुलमिल हुन आग्रह गर्नुभयो । किसान र माटोसँग घुलमिल हुन नसकेमा नयाँ ईनोभेसन गर्न नसक्ने बताउनु भयो । उहाँले नार्कको लागी नयाँ ऐन बनाउने काम पनि अगाडी बढाएको जानकारी दिनुभयो । कृषि वैज्ञानिकलाई मर्यादित, व्यवसायिक र सम्मानयोग्य बनाउन आफूहरु लागिपरेको र यसमा सबै सरोकारवालाहरुको सहयोग आवश्यक पर्ने बताउनु भयो । नार्कको पुनःसंरचना गर्ने कामलाई पनि अगाडी बढाइएको बताउनु भयो ।
नार्कले नवनियुक्त वरिष्ठ वैज्ञानिक र वैज्ञानिक कर्मचारीहरुलाई पाँच दिन अभिमुखिकरण दिने जनाएको छ । अभिमुखिकरणका क्रममा नार्क खुमलटारमा रहेका सबै अनुसन्धान केन्द्रहरुको अवलोकन भ्रमण गराउने पनि जनाईएको छ । अभिमुखिकरणपछि साउन १ गतेबाट सम्बन्धित कार्यलयहरुमा उनीहरुलाई खटाईने नार्कले जनाएको छ ।











