१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय
अ अ+ अ-

नवलपरासी। निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि होटल तथा पर्यटन व्यवसाय पुनः चलायमान हुनेमा यहाँका व्यवसायी आशावादी बनेका छन् ।

सडक निर्माणका क्रममा वर्षौँदेखि धुलो, हिलो, जाम र जोखिमपूर्ण यात्राका कारण यात्रु तथा पर्यटकले नवलपुर क्षेत्रमा रोकिएर खाना खाने, विश्राम गर्ने तथा घुमफिर गर्ने क्रम उल्लेख्य रूपमा घटेको थियो । यसले राजमार्ग लक्षित होटल, रेष्टुरेन्ट तथा पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको व्यवसायीहरू बताउँछन् । अहिले सडक कालोपत्र भइसकेपछि यात्रुहरूको आवागमन सहज बन्दै गएको र होटलहरूमा पुनः चहलपहल बढ्न थालेको उनीहरूले जनाएका छन् ।

नवलपुर होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सन्तोष रानाका अनुसार सडक विस्तार सुरु भएपछि करिब पाँच–छ वर्षसम्म राजमार्ग आसपासका होटल व्यवसाय अत्यन्तै प्रभावित बने । धुलो र अव्यवस्थित सडकका कारण यात्रुहरू अप्ठ्यारो खण्ड पार गरेपछि मात्र खाना खाने वा विश्राम गर्ने मनस्थितिमा रहने भएकाले होटलहरूको व्यापार उल्लेख्य रूपमा घटेको उहाँले बताउनुभयो ।

“सडक निर्माणका कारण लामो समयसम्म व्यापारमा मन्दी छायो । कतिपय व्यवसायीले होटल नै बन्द गर्नुपर्ने अवस्था आयो भने केही विस्थापितसमेत भए”, अध्यक्ष रानाले भन्नुभयो, “अब सडक विस्तारको काम करिब सकिएको छ । यात्रुहरू पुनः राजमार्ग आसपासका होटलमा रोकिन थालेका छन् । यसले होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास बढाएको छ ।”

उहाँका अनुसार गैँडाकोटदेखि दाउन्नेसम्मका अधिकांश होटल व्यवसाय सडक निर्माणका कारण सबैभन्दा बढी प्रभावित भएका थिए । अहिले भने सवारीसाधन नियमित रूपमा रोकिन थालेकाले व्यवसायमा सकारात्मक सङ्केत देखिन थालेको उहाँको भनाइ छ ।

दाउन्नेस्थित सुवेदी सेकुवा कर्नरका सञ्चालक विनोद शर्मा सुवेदीले पनि सडक निर्माणको अवधिमा होटल सञ्चालन गर्न निकै कठिन भएको अनुभव सुनाउनुभयो । “धुलो र हिलोका कारण यात्रुहरू होटलमा रोकिनै चाहँदैनथे । होटलभित्रका सामग्रीसमेत धुलोले ढाकिन्थे । दैनिक व्यापार निकै घटेको थियो”, उहाँले भन्नुभयो, “अहिले सडक राम्रो बन्दै गएको छ । यात्रुहरूको आवागमन बढ्न थालेको छ । यसले व्यवसाय फेरि चलायमान हुने आशा जगाएको छ ।”

नवलपुर होटल व्यवसायी सङ्घका अनुसार जिल्लाभर करिब एक हजार १०० होटल तथा पर्यटनसम्बन्धी व्यवसाय सञ्चालनमा छन् । तीमध्ये धेरैजसो राजमार्ग निर्माणका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका थिए । अब सडक सहज बनेसँगै व्यवसायमा क्रमशः सुधार आउने विश्वास व्यवसायीहरूले गरेका छन् ।

नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोका अनुसार सडकको अवस्थाले जिल्लाको पर्यटन क्षेत्रमा ठूलो प्रभाव पारेको थियो । “पर्यटकका लागि गन्तव्य आकर्षक भए पनि सहज पहुँच नहुँदा आगन्तुकको सङ्ख्या घटेको थियो”, उहाँले भन्नुभयो, “अब सडक विस्तारको काम लगभग सम्पन्न भएको छ । यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा पनि देखिन थालेको छ ।”

उहाँका अनुसार अमलटारी, पिप्रहरलगायत वन्यजन्तु अवलोकनका प्रमुख गन्तव्यमा पछिल्लो समय पर्यटकको आगमन क्रमशः बढ्न थालेको छ । सडक सहज बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अझ वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

नवलपुरको राजमार्ग क्षेत्रअन्तर्गत थुम्सी, दुम्किबास, दाउन्नेलगायतका स्थानहरू यात्रुका लागि प्रमुख विश्राम तथा खानाका केन्द्रका रूपमा परिचित छन् । सडक विस्तारका कारण लामो समय सुनसान बनेका यी क्षेत्रका होटलहरूमा अहिले फेरि यात्रु रोकिन थालेको व्यवसायीले बताएका छन् ।

नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुर खण्डमा कालोपत्र र ढलानको काम सम्पन्न भइसकेको छ भने अहिले सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङ तथा अन्य सहायक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

विगतमा धुलो, जाम र जोखिमपूर्ण यात्राका कारण आलोचित बनेको यो सडक अहिले क्रमशः सहज र सुरक्षित बन्दै गएको छ । सडक पूर्वाधारमा आएको सुधारसँगै होटल, पर्यटन, यातायात तथा स्थानीय व्यापार–व्यवसायमा नयाँ उत्साह थपिएको छ ।

व्यवसायीका अनुसार सहज सडकले पर्यटकको आगमन बढाउनुका साथै जिल्लाको समग्र आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने विश्वास गरिएको छ । रासस