काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। सोमबार आयोजित कार्यक्रममा पार्टीका नेता पूर्णबहादुर खड्काले कार्यालयको उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटनपछि सोही स्थानमा नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक समेत बसेको थियो। बैठकमा पार्टीलाई आगामी दिनमा थप सुदृढ, एकताबद्ध र प्रभावशाली बनाउने विषयमा छलफल भएको बताइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मिनबहादुर विश्वकर्माले नेपाली काँग्रेस विगतमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति रहेको स्मरण गर्दै हाल केही कमजोर देखिए पनि आगामी दिनमा पुनः पहिलो र अझ बलियो पार्टी बनाउने लक्ष्यका साथ अघि बढ्ने बताउनुभयो।
उहाँले पार्टीभित्रको एकतालाई थप सुदृढ गर्दै संगठन विस्तार, कार्यकर्ताको मनोबल उकास्ने र जनविश्वास बढाउने दिशामा संस्थापन इतर पक्ष प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
विश्वकर्माले नेपाली काँग्रेसलाई पुनः देशकै अग्रणी राजनीतिक शक्ति बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।











