काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेपछि पहिलोपटक कुनै विदेशी प्रतिनिधिसँग एकान्तमा औपचारिक भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच आगामी मंगलबार बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै भेटवार्ता हुने तय भएको छ।
कान्दा नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुगेका छन् । भ्रमणका क्रममा नेपाल र एडीबीबीचको विकास साझेदारी, पूर्वाधार निर्माण तथा आर्थिक सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहले यसअघि कुनै पनि विदेशी प्रतिनिधिसँग एकान्त भेट गरेका थिएनन्। विशेषगरी राजनीतिक उद्देश्यले नेपाल आएका विदेशी प्रतिनिधिलाई भेट्ने जिम्मेवारी उनले परराष्ट्र मन्त्रालयलाई नै दिँदै आएका थिए।











