विराटनगर। गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा तत्काल खाली गराउन निर्देशन दिनुभएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासहित आज साँझ अस्पतालको स्थलगत निरीक्षणमा पुग्नुभएका गृहमन्त्री गुरुङले सरकारी र सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचना हटाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको हो ।
विभिन्न सङ्घसंस्थाले अस्पतालको जग्गा वर्षौंदेखि कब्जा गरी व्यावसायिक प्रयोजनमा लगाएको पाइएपछि गृहमन्त्री गुरुङ आफैँ टोली लिएर अस्पताल परिसरको वस्तुस्थिति बुझ्न पुग्नुभएको थियो । अस्पताल प्रशासनले अतिक्रमित संरचना हटाउन दिएको १५ दिने म्याद सकिएको दुई दिनपछि गृहमन्त्री र स्वास्थ्यमन्त्रीको टोलीले आकस्मिक निरीक्षण गरेको हो ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले कानुनको बर्खिलाप हुने गरी सार्वजनिक जग्गा ओगट्ने जो कोहीलाई पनि नछाडिने बताउनुभयो । अस्पतालको स्वामित्वमा रहेको जग्गा खाली गराउने अभियानमा गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गर्ने उहाको भनाइ थियो ।
स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालले दिएको समयसीमा सकिँदा पनि संरचना खाली नहुनु दुःखद् भएको भन्दै अबको एक हप्ताभित्र यो ठाउँ खाली गराइने प्रतिबद्धता जनाउनुभयो ।
कोशी अस्पतालका नाममा रहेको विराटनगर–७ स्थित कित्ता नम्बर १२, १५, २२, ११, २६ र २३ को जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाई भाडामा लगाएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चन्द्रभाल झाले अस्पतालको जग्गा फिर्ता हुने प्रक्रियाले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । रासस











