१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्धमा आत्मनिर्भर प्रदेश नं. १



अ+ अ-

विराटनगर । प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, दुग्ध उत्पादनमा यस प्रदेशले राष्ट्रिय उत्पादनमा ३० दशमलव २३ प्रतिशत योगदान दिएको छ । मुलुकभरि १९ लाख २४ हजार २०० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेकोमा प्रदेश नं १ मा पाँच लाख ८१ हजार ७७९ मेट्रिक टन उत्पादन हुने गरेको छ ।

यसैगरी माछाको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशले १२ दशमलव ६६ प्रतिशत योगदान गरेको छ । यो प्रदेशमा सात हजार ७२ मेट्रिक टन माछा बर्सेनि उत्पादन हुने गरेको छ । माछाको राष्ट्रिय उत्पादन ५५ हजार ८४३ मेट्रिक टन रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मासुको कूल राष्ट्रिय उत्पादनमा यो प्रदेशको योगदान १९ दशमलव २६ प्रतिशत रहेको छ । मासुको राष्ट्रिय उत्पादन तीन लाख ३२ हजार ५४४ मेट्रिक टन रहेकोमा यो प्रदेशको उत्पादन ६४ हजार ५४ मेट्रिक टन रहेको छ । त्यस्तै यो प्रदेशमा अण्डाको उत्पादन ११ दशमलव ९७ करोड हो । यसले राष्ट्रिय उत्पादनमा आठ दशमलव ८५ प्रतिशत योगदान गरेको छ । अण्डाको राष्ट्रिय उत्पादन १३५ करोड हो । प्रदेशमा बागवानी उत्पादन दुई हजार ४७ दशमलव ५९४ मेट्रिक टन, पशुपक्षीजन्य उत्पादन ६५२ दशमलव ९०५ मेट्रिक टन रहेको छ भने कृषि तथा पशु प्रसार सेवाको पहुँच १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

आत्मनिर्भर हुन नसकेका खाद्य पदार्थअन्तर्गत माछाको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टनबाट छ मेट्रिक टन प्रतिहेक्टर पुर्याउने, मासुको उत्पादनमा १५ प्रतिशत वृद्ध गर्ने प्रदेश योजना आयोगको रणनीति छ । प्रदेशको मिल्क होली डे हटाउन प्रदेश सरकारले रु २१ करोडभन्दा बढी लगानीमा सुनसरीको तरहरामा पाउडर प्लान्ट (धुलो दुग्ध) स्थापना गर्न लागेकाले पनि दुग्ध उत्पादन गर्ने किसान खुशी भएका छन् ।